ADVERTISING

Breaking News

अर्ती उपदेशमा लुकेकाे झुटो यथार्थ

  • केदार कोइराला

अर्कालाई उपदेश दिन सजिलाे छ । दुई छटाङकाे जिव्राे फड्कारे पुग्छ । त्यही उपदेश आफ्नाे दैनिक चालचलनमा भित्र्याउन गाँडफत्ते पर्छ । मान्छेका बाेलीचाली र व्यवहारले देखाउने सत्यमाथि खाेल हालेर देखाइने नाैटंकी अहिले सुपरहिट सिनेमा भन्दा कम छैन । मेराे बठ्याँइ पत्यारीलाे छैन तै पनि म बाठाे पल्टिन पछि पर्दिनँ । मैले बाेल्ने वचनमा मन कुँडिने चुकअमिलाे मिसिएकाे छ । र पनि मेराे चिच्याहटकाे पाराे घटेकाे छैन । वरिपरि मुन्टाे बटार्नेहरूकै भिडभाड देख्दा देख्दै पनि काेलाहाल मच्चाउन म पछि पर्दिनँ । याे सबै नाैटंकी के का लागि ? मैले टेकेकाे माटाे र त्याे माटाे माथिकाे मेराे पैताला सु बाटाे हाेइन कु बाटाेमा लम्किरहेकाे छ, थाहा हुँदा हुँदै पनि थाकेकाे छैन मेराे खुट्टा किन ? जतिसुकै रफ्तारमा दाैडे पनि मेराे गन्तव्य घाटसम्म मात्रै हाे थाहा छ । तर पनि म आफुलाई रत्तिभर सच्याउन चाहन्न । याे वर्तमानकाे हाम्राे समाजिक वृत्तचित्र हाे ।

जीवनकाे तेह्र वसन्त सिक्रीमा बाँधिएर नारकीय जीवन जिउन बाध्य पारिएका उमाकान्त अहिले गाेठालाे जान्छन् । छाेराछाेरीसँग हंसिठट्टा गर्छन् । पारिवारिक पुनर्मिलनले परिवार सुखकाे सुखानुभुतिमा रमेकाे छ उमाकान्तकाे परिवार ।तेह्र-तेह्र वर्ष सम्म पशुतुल्य नारकीय दलदलमा बाँच्न बाध्य भएका उमाकान्तकाे हिजाेकाे त्याे कन्तबिजाेगमा कसैले चिन्ता गरेन । कहिले मर्छ र दाहसंस्कार गरेर राहत हाेला भनेर बसेका आफन्त हुन् वा उमाकान्तकाे पीडा महसुस गर्न नचाहने समाज, मनमा हरी नभएका भिड मात्र थिए । मानव भित्रकाे मानव जागेपछि त्याे ईश्वरकाे रूप बनेर निस्केकाे रामजीकाे करूणाले उमाकान्तकाे पुनर्जीवन विहानीकाे किरणझैं भएकाे छ ।

मान्छेले मृत्यु देखेकाे छ । पीडा भाेगेकाे छ । भाेक प्यास राेगब्याधीले ग्रस्त जीवन हेर्न पनि बाध्य छ । तथापी मान्छेमा त्याे सकारात्मक साेच र म पनि मर्छु भन्ने चेतना पलाउन सकेन किन ? असी वसन्त काटेका बाउआमालाई आश्रममा छाेडेर हराउने सन्तान हुन् वा सालनालसहितकाे शिशु फाेहाेरकाे डंगुरमा फ्याँकेर हिँड्ने आमा, मानवकाे रूपमा अवतरित दानव हुन् भन्दा फरक पर्दैन । तिनै दानव रूपी मानवले गरेकाे दुष्कर्म सहस्र स्विकारेर मिल्किएका, लावारिस जीवन संगालेर पुनर्जीवन दिने मानवसेवी पनि यही समाज भित्र छन् । असहायका साहारा बनेर लाेकलाज बचाउने महान उद्देश्य बाेकेका तरूण पुस्ताकाे मानव सेवाप्रतिकाे लगाव देख्दा लाग्छ धिक्कार रहेछ मेराे जीवन । स्वार्थरहीत निस्वार्थ सेवाका नायक रामजी र उनले शुरू गरेकाे मानव सेवा आश्रमकाे प्राङ्गणमा पाइला टेक्दा मात्रै पनि सुखानुभूति हुन्छ । आफ्नै आङकाे लुगा पनि अर्कालाई धुन दिएर सुकिलाे मुकिलाे पल्टिने मेराे व्यवहारले मलाई नै गिज्याइरहेकाे मैले पत्तै पाइनँ । जब मैले देखें भर्खरका युवाहरू वृद्धवृद्धा र स-साना केटाकेटीकाे दिसापिसाव साेरेर तिनकाे घाउखटीरामा मल्हम लगाइरहेका छन् । बाटाघाटामा मिल्किएका जीर्ण शरीर बाेकेर स्याहार सुसारमा ब्यस्त छन् । मलाई आफैं देखेर लाज लाग्याे । उनीहरूकाे त्याे सेवा समर्पणले दिने सन्तुष्टि र मेराे आडम्बरमा पाइने बनावटी सुखबीच रत्तिभर तुलना हुनै सक्तैन । मैले आफ्नै आँखाले देखेकाे यथार्थ हाे मानव सेवा आश्रमभित्रकाे पवित्र मानव सेवा ।

आत्मा र परमात्मा मिश्रित मेराे जीवन त्यतिबेलासम्म सबैकाे प्रिय हुन्छ जतिबेलासम्म मेराे प्राण पखेरू उड्दैन । प्राण रहेसम्म सुगन्धित लाग्ने मेराे शरीर प्राण उडेपछि गनाउन थाल्छ । मेराे गालामा म्वाइ खाने र अंकमाल गर्नेहरू मेराे शरीरलाई लास भनेर छुँदैनन् । मेराे उपस्थिति भएन भने गाँस नजाने, मलाई भेटेन भने निद्रा नलाग्ने भन्नेहरू पनि मेराे मृत्य पश्चात् ‘समवेदना’काे दुई शब्द दिएर हराउछँन् । कति स्वार्थी छाैं हामी ? शानसाैकात कसका लागि ?  कहिलेसम्म ? जीवन सफल भयाे ? अब के बाँकी छ ? ममा अब यस्ता प्रश्नले घर जमाउन थालेकाे छ । अरूलाई दिने अर्ती उपदेशकाे मुहान बन्द गर्न मन छ । स्वार्थी र मेराे भन्नेहरूबाट टाढिन चाहन्छ मेराे मन । एकान्त र ध्यान हाेइन असहाय, निसहाय र अलपत्र परेका जीवन बटुलेर तिनीहरूकाे स्याहार सुसारमा व्यस्त हुने चाहना पलाएकाे छ । हातखुट्टा र मस्तिष्क चलेसम्म मानव सेवामा समर्पित हुने रहर छ । के पूरा हाेला त मेराे अन्तरआत्माकाे चाहना ? कतै याे मेराे इच्छा अर्ती उपदेशमा लुकेकाे झुटो यथार्थ नबनाेस् । ॐ नम शिवायः

leave a reply