ADVERTISING

Breaking News

संवैधानिक इजलासमा ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ गीतको प्रशंग

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटको सुनुवाई गरिरहेको संवैधानिक इजलासमा बिहीबार गायिका अन्जु पन्तको ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ बोलको गीतको प्रशंग निस्किएको छ । गीतको प्रसंगसँग जोड्दै वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले भने, ‘दुई–दुई वटा संविधान सभाले बनाएको संविधान न बिर्सन सकिन्छ, न संविधान पाएको जस्तो भयो यो विघटनले ।’

पहिलो संविधानसभाको समयमा उक्त गीत निकै चर्चित रहेको भन्दै घिमिरेले त्यो बेला माओवादी फरक पृष्ठभूमिबाट आएको तर उसकै एजेण्डाअनुसार संविधानसभाको निर्वाचन भएर पनि संविधान बन्न नसक्ने अवस्था सिर्जना भएपछिको परिस्थितिसँग उक्त गीतका उल्लेखित हरफ मेल खाने बताएका हुन् ।

तर, दोस्रो संविधानसभाबाट संविधान बनेको र त्यो संविधानले प्रतिनिधिसभा विघटन परिकल्पना नगरेको उनले जिकिर गरे ।

वरिष्ठ अधिवक्ता घिमिरेले पहिलाका चारवटा विघटन सिफारिसको जगमा नयाँ संविधानमा प्रतिनिधिसभा विघटनसम्बन्धी प्रावधान नराखिएको बताए । ‘तत्कालीन प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, सूर्यबहादुर थापा र शेरबहादुर देउवाले गरेको प्रतिनिधिसभा विघटनकाृ सिफारिसको जगमा यो संविधानमा त्यस्तो व्यवस्था गरिएको हो,’ उनले भने ।

प्रतिनिधिसभाको मुख्य नेता मानिने सभामुखलाई समेत थाहा नदिइ विघटनको सिफारिस गरिएको जिकिर गर्दै उनले यस्तो कार्य व्यवहारिक पनि नभएको र न्यायको सिद्धान्त अनुसार पनि नरहेको दावी गरे ।

प्रतिनिधिसभा विघटनको सिफारिस अनिश्चयात्मक रहेको भन्दै उनले राष्ट्रपतिले यस्तो अनिश्चयात्मक सिफारिस आउँदासमेत कानुनविद्हरुसँग छलफल नगरी प्रमाणीकरण गरेको भन्दै उक्त कार्यले संविधानको मर्मलाई कुल्चिएको बताए ।

leave a reply