ADVERTISING

Breaking News

खोपका लागि लाइन नमिच्न धनी देशलाई डब्लुएचओको आग्रह

एजेन्सी : विश्व स्वास्थ्य सङ्गठन ‘डब्लुएचओ’ले धनी देशलाई आफ्ना निम्ति कोरोना खोप जम्मा गर्ने क्रममा लाइन नमिच्न आग्रह गरेको छ । डब्लुएचओका प्रमुख टेडरोज आध्यनोम गेब्रेयसियसले ‘मलाई पहिला’ भन्ने शैली आफ्नै निम्ति समेत हानिकारक हुने चेतावनी दिएका हुन् ।

यसले खोपको भाउ र भण्डारण दुबै बढ्ने उनले चेतावनी दिएका छन् । डब्लुएचओ प्रमुखले गरिब देशका स्वास्थ्यकर्मी तथा जोखिमपूर्ण समुदायभन्दा पहिले धनी देशका युवा तथा स्वस्थ्य मानिसहरूले खोप लगाउनु अनुचित भएको पनि बताएका छन् ।

आफूलाई मात्र खोपको जोहो गर्ने शैलीले महामारीलाई लम्ब्याइदिने उनको चिन्ता छ । संसारका ४९ धनी देशहरूले ३ करोड ९० लाख मात्राको खोप लगाइसकेको तर न्यून आय भएको एउटा देशमा जम्मा २५ मात्राको खोप पुगेको डब्लुएचओले जनाएको छ ।

महानिर्देशक टेडरोजले असमान खोप वितरणका कारण संसार चरम नैतिक संकटको सम्मुख भएको भन्दै अन्तर्राष्ट्रिय खोप आपूर्ति सञ्जाल ‘कोभ्याक्स’ अभियानप्रति सबै देर्श प्रतिबद्धता हुनुपर्ने बताए ।

कोभ्याक्सअन्तर्गत आगामी महिनादेखि खोप आपूर्ति थालिने डब्लुएचओले जनाएको छ । हालसम्म १ सय ८० देशहरू कोभ्याक्समा सामेल भएका छन् । यस अन्तर्गत न्यून वा मध्यम आय भएका ९२ देशहरूका निम्ति दाताहरूले खोपको पैसा तिरिदिनेछन् ।

हालसम्म भारत, चीन, रुस, अमेरिका, बेलायत अनि केही बहुराष्ट्रिय टोलीले खोप विकास गरेका छन् । सबैले आफ्नै नागरिकलाई खोप लगाउन प्राथमिकता दिएका छन् ।

leave a reply