ADVERTISING

Breaking News

बागमती सफाई महाअभियानको ४०० औं हप्ता

काठमाडौं : बागमती सफाई महाअभियानको ४ सय हप्ता पुगेको अवसरमा शनिबार विशेष कार्यक्रम गरी मनाइएको छ । २०७० जेठ ५ गते तत्कालिन मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा शुरु भएको बागमती सफाई महाअभियानको शनिबार ४ सय हप्ता पुगेको हो ।

स्वच्छता हाम्रो पहिचान सफाइमा मेरो योगदान’ नारा दिएर बागमती सफाई शुरु भएपछि अहिले बागमती सफा र दुर्गन्ध रहित बनेको छ । शनिबार फोहोरमैला व्यवस्थापन संघले बागमती सफाई महाअभियानको ४ सय हप्ता पुगेको अवसरमा काठमाडौंको मिनभवनमा विशेष कार्यक्रम गरेको छ ।

कार्यक्रममा बागमती सफाई अभियान्ताहरुले नदीमा फोहोर फाल्न हुँदैन भन्ने जनचेतना फैलाउनु मुख्य कुरा भएको बताएका छन् ।

यस्तै सरकारले बागमती लगायत कुनैपनि नदीमा फोहोर फाल्ने, ढल मिसाउने काम गर्नेलाई कानूनी कारबाही हुनेगरी कानून निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा सहभागिता कलाकार मनिषा कोइरालाले नदीमा मिसाइँदै आएको फोहोरलाई आधुनिक प्रविधिको प्रयोग गरी उर्जा उत्पादनमा लगाउने योजना सरकारले ल्याउनुपर्ने बताइन् ।

कलाकार आनी छोइङ डोल्माले पनि शरिरलाई रक्त सञ्चारले सफा गरेजस्तै नदीलाई मानिसहरुले सफा गर्नुपर्ने बताइन । राज्यले पनि फोहोर तथा ढल नदीमा मिसाउन नहुने सम्बन्धमा छुट्टै कानून निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

बागमती सफाईको ४ सय हप्ताको अवधिमा नदी संरक्षणका लागि सचेतना जगाउन तथा नदीमा फ्याँकिएको फोहोर हटाउन नागरिक स्तरबाट उल्लेख्य सहभागीता भएको छ ।

महाअभियानमा सरकारी कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक अगुवाहरु, कलाकार, विद्यार्थी, विभिन्न संघसंस्थाहरु र जनप्रतिनिधिहरुको सहभागिता हुने गरेको छ ।

प्रत्येक शनिवार नागरिकहरु स्वतस्फूर्त रुपमा बागमती सफाइमा जुटेपछि अहिले बागमती नदीबाट दुर्घन्ध हटेको छ भने नदीमा सफा पानी बग्न थालेको छ ।

यो अवधिमा नदी किनारामा बगैंचा निर्माण हुने रुख रोप्ने लगायतका काम भएका छन् । बागमती नदिको विभिन्न ठाउँमा २६ वटा पार्क निर्माण गर्ने लक्ष्य राखिएको छ ।

leave a reply