एजेन्सी : टोकियो ओलम्पिक नयाँ निर्धारित मितिमा हुनेमा पनि अन्योल देखिएको छ । संसारभर कोरोना भाइरसको नयाँ संक्रमण देखिन थालेपछि २०२१ को जुलाइ २३ देखि अगष्ट ८ सम्मका लागि तय गरिएको खेल अन्योलमा परेको हो ।
अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल ‘आईओसी’मा सबैभन्दा लामो समय सदस्य रहेका डिक पाउन्डले टोलियो ओलम्पिक नयाँ निर्धारित मितिमा पनि आयोजना हुनेमा शंका व्यक्त गरेका छन् ।
कोरोना भाइरसको नयाँ संक्रमण फैलिएकाले ओलम्पिक तयारीका काम पुरा गर्न नसकिने उनको भनाइ छ । टोकियो ओलम्पिकमा सहभागीहरुका लागि कोरोना खोपको व्यवस्था गर्नुपर्ने अवस्था छ ।
त्यस्तै जापान प्रवेश गर्ने क्रममा उनीहरुले खोप लगाए/नलगाएकोबारे प्रष्ट हुनुपर्ने लगायतका व्यवस्था गरिएको छ । आईओसी र अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटीले खेलका लागि सहभागी बिदेशी खेलाडीको सम्भावित खोप कार्यक्रम तयार गरिरहेको जनाएको छ ।
जापानले भने टोकियो लगायतका शहरमा आपतकालीन स्थितिको घोषणा गरिए पनि निर्धारित खेल आयोजना गर्न तयार रहेको बताएको छ । जापानी प्रधानमन्त्री योशिहिदे सुगाले आपतकाल घोषणाले ओलम्पिक र यस गर्मीमा सुरक्षित खेल आयोजनाका लागि अवसर प्रदान गर्ने बताएका छन् ।
कोरोनाकै कारण एक वर्ष सारिएको विश्व खेलकुदको महामेला टोकियो शहरमा सन् २०२१ को जुलाइ २३ देखि अगष्ट ८ सम्म आयोजना हुनेछ । कोरोना कारण ओलम्पिक आयोजनाको लागत २ दशमलब ८ विलियन अमेरिकी डलर थपिएको छ ।