काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयमा देशभर भइरहेका संविधानविरोधी र हिंसात्मक गतिविधिको विरोधमा जुट्न सबै दल एक हुनुपर्ने बताएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले संविधान विरोधी र हिंसात्मक गतिविधिको विरोधमा एकजुट हुन सबैमा आग्रह गरेका हुन् ।
बैठकको शुरुमा प्रधानमन्त्री ओलीले छलफल गर्नुपर्ने एजेन्डाबारे दलहरुलाई जानकारी गराएका थिए । सर्वदलीय बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि र पूर्वप्रधानमन्त्रीहरु सहभागी रहेका छन् ।
बैठकमा राजसंस्था पुनर्स्थापनाका लागि देशभर भइरहेको प्रदर्शन, कोभिड महामारी लगायत समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सहभागिता रहेको छ ।
यसैबीच बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठकमा कोरोनाको रोकथाम र नियन्त्रणमा सरकार असफल भएको, भ्रष्टाचार बढेको, सरकारका गतिविधिका कारण नागरिकमा निराशा छाएको, राजतन्त्रको पक्षमा सडकमा प्रदर्शन बढेको लगायतका विषयमा सरकारलाई ध्यानाकर्षण गराएका छन् ।