ADVERTISING

Breaking News

महिला हिंसा र अपराधका घटना दोहोरिन नदिन सम्बद्ध पक्षलाई राष्ट्रपतिको आह्वान

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा र अपराधका घटना दोहोरिन नदिन सम्बद्ध पक्षलाई आह्वान गरेकी छिन् ।

‘महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस’ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सबै प्रकारका हिंसा अन्त्य गर्दै लैङ्गिक समानताको स्थापना गर्नु सम्पूर्ण विश्वको साझा दायित्व भएको बताएकी हुन् ।

सम्बद्ध सबै पक्ष थप सचेत र जागरुक हुँदै हिंसामुक्त समाज स्थापनाका लागि अग्रसर हुनुपर्नेमा राष्ट्रपतिले जोड दिएकी छिन् । बोक्सी, छाउपडी, दाइजो तथा तिलक प्रथाजस्ता सामाजिक कुरीति, कुप्रथा र अन्धविश्वासलाई कानूनले निषेध गरेको भए पनि अझै धेरै दिदीबहिनी हिंसा, विभेद र अपमानका पीडाबाट गुज्रिनु परिरहेको उनको भनाइ छ ।

संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसा विरुद्धको दिवसकारुपमा मनाउने निर्णय गरेको हो । हरेक वर्षको २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म १६ दिन लैङ्गिक हिंसाका विरुद्ध ऐक्यबद्धता जनाउन र जनचेतना कायम राख्न विभिन्न कार्यक्रमहरु आयोजना गरिन्छ ।

यस वर्ष नेपालले पनि ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ १६ दिने अभियान सञ्चालन गर्दैछ । अध्ययनहरुका अनुसार संसारभरिका हरेक तीनमध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोग्दै आएका छन् ।

leave a reply