काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले बाल अधिकारको सम्मान र संरक्षणमा जोड दिन आह्वान गरेको छ । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा आज एक विज्ञप्ती प्रकाशित गर्दै आयोगले ‘पछिल्लो समय कोरोना भाइरसको महामारीको अवस्थामा गरिब, विपन्न तथा दुर्गम क्षेत्रका बालबालिकाको वैकल्पिक शिक्षामा पहुँच पुग्न नसक्दा शिक्षाको समान पहुँचबाट समेत बालबालिका वञ्चित हुन पुगेको उल्लेख गरेको हो । आयोगले अन्तर्राष्ट्रिय मञ्चमा व्यक्त गरेका प्रतिबद्धता, कानुनी व्यवस्था, अदालतका फैसला तथा राष्ट्रिय मानव अधिकार आयोगका सिफारिसहरुको कार्यान्वयन पक्ष कमजोर हुँदा बालबालिका अझै पोषण, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत अधिकारबाट बञ्चित भएको आयोगको भनाइ छ । आयोगको अध्ययनले बालबालिकाहरु सामाजिक वहिष्करण, डर, त्रासलगायतका कारण बलात्कार तथा यौन हिंसाबाट पीडित भएको देखिएको समेत विज्ञप्तीमा उल्लेख छ । बाल विवाह, बालश्रम, बाल यौन दुव्र्यवहार जस्ता बाल हितविपरीतका घटना निराकरणका लागि विशेष कार्य गर्न आयोगले सरकार तथा सम्बद्ध पक्षलाई आग्रह समेत गरेको छ ।
बाल अधिकारको सम्मान र संरक्षणमा जोड दिन आह्वान
