काठमाडौ । कोरोना संक्रमण नियन्त्रणका लागि उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि नि: शुल्क बस सेवा सुरु गरिएको छ । कोभिड संक्रमणको जोखिम बढेपछि उपत्यकामा लगाइएको निषेधाज्ञालाई मध्यनजर गर्दै पहिलो पंक्तिमा खटिएर सेवा दिइरहेका स्वास्थ्यकर्मीहरुको सुविधालाई मध्यनजर गर्दै विभिन्न संघसंस्थाको पहलमा निःशुल्क बससेवा सुरु गरिएको हो । उपत्यकामा निशेधाज्ञा जारी गरेसँगै स्वास्थ्यकर्मीलाई अस्पताल जान समस्या परेपछि स्वास्थ्य प्रवाहमा समस्या नहोस भनेर यस्तो सेवा थालिएको बताइएको छ ।
सुरुमा प्रत्येक दिन तीनवटा बसले सेवा दिएपनि स्वास्थ्यकर्मीको माग र आवश्यकतालाई हेरेर सेवा र समय बढाउँदै लैजाने नेपाल मेडिकल एशोसियशनले जनाएको छ ।
स्वास्थ्यकर्मीहरुको सिफ्टअनुसार दुई समयमा गाडी सञ्चालन हुनेछ । बाँसबारीबाट सुरु हुने बस त्रिभुवन शिक्षण अस्पताल, कान्ति वाल अस्पताल, वीर अस्पताल, थापाथली अस्पताल हुँदै पाटन अस्पतालसम्म चल्नेछ । त्यस्तै अर्को बस पाटन अस्पतालदेखि सुरु भई थापाथली, आँखा अस्पताल त्रिपुरेश्वर, वीर अस्पताल, कान्ति वाल अस्पताल, टिचिङ अस्पताल हुँदै बाँसबारीसम्म र अर्को बस चक्रपथ परिक्रमा गर्नेछ । बस विहान ६.३० बजेदेखि ८.३० बजेसम्म र साँझ ५.३० बजेदेखि ७.३० बजेसम्म चल्ने ब्यवस्था मिलाइएको छ । नेपाल मेडिकल एशोसियशन, रोटरी क्बल अफ काठमाडौँ हेल्थ प्रोफेसनल्स, नेपाल नेशनल अस्पताल कलङ्की, नेपाल स्काउट र हिसानको सहकार्यमा बससेवा सुरु भएको हो ।
उपत्यकामा कार्यरत स्वास्थ्यकर्मीका लागि नि:शुल्क बस सेवा
