काठमाडौ । नेपालमा रासायनिक मल युरिया भित्रन शुरु भएको छ । साल्ट ट्रेडिङ लिमिडेटमार्फत युनाइटेड अरब इमिरेटबाट ३२ हजार ५०० मेट्रिक टन युरिया भारतको कलकत्ता हुँदै ल्याउन थालिएको हो ।
कोलकत्ता बन्दरगाहमा राखिएको मललाई वीरगञ्ज र विराटनगर हुँदै नेपालमा ल्याउन थालिएको हो । मङ्गलबार मात्र तीन हजार मेट्रिकटन मल नेपाल भित्रिएको छ । वीरगञ्जबाट दुई हजार ५०० मेट्रिकटन र विराटनगरबाट ५०० मेट्रिकटन नेपाल भित्रिएको हो ।
वीरगञ्जमा रेलमार्फत २७ हजार ५०० मेट्रिकटन र विराटनगर ट्रकमार्फत पाँच हजार मेट्रिकटन मल कोलकत्ताबाट आउँदैछ । करिब १५ दिनमा नेपालमा ल्याउन थालेको मल सबै आइपुग्दछ । मल आउन थालेपछि हप्ता दिनमा मल सबै किसानले सहज पाउने कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले बताए । यसरी आएको मल साल्ट ट्रेडिङ लिमिटेडका डिपोबाट कृषकलाई वितरण हुनेछ ।