ADVERTISING

Breaking News

कोरोनाबाट नेपालमा थप ८ जनाको मृत्यु, ७४३ संक्रमित थपिए, उपत्यकामा थपिए २२४ संक्रमित

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ७ वर्षीया महिला र ३८, ५३ र ५४ वर्षीय पुरुष गरी चार जनाको मृत्यु भएको छ ।

त्यसैगरी सुनसरीका ६८ वर्षीय पुरुष, मोरङमा ६५ वर्षीय पुरुष, पर्साका ७० वर्षीया महिला र काठमाडौंकी ४८ वर्षीया महिलाको पनि कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । १० हजार २ सय ३४ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय ९७ पुरुष र २ सय ४६ महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोराना भाइरस संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ ।

उपत्यकामा थप २ सय २४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा काठमाडौंका १ सय ७७, ललितपुरका ३३ र भक्तपुरका १४ जना रहेका छन् । त्यस्तै मोरङमा ३१, सुनसरीमा २३, पर्साका ३४, बारामा ९४, कैलालीमा ८९, चितवनमा ३२ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र बारामा सक्रिय संक्रमितको संख्या पाँच सय भन्दा बढी छ । हुम्ला र मुस्ताङमा सक्रिय संक्रमित छैनन् ।

अहिले देशभरि १३ हजार ७ सय १५ जनामा सक्रिय संक्रमित रहेका छन् । संक्रमितहरूमध्ये ४ हजार ५ सय ६१ जना घरमै र बाँकी ९ हजार १ सय ५४ जना संस्थागत आइसोलेशनमा रहेका छन् । सक्रिय संक्रमितमध्ये १ सय ३२ जना सघन उपचार कक्षमा र १५ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १ सय ७५ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या १८ हजार ८ सय छ संक्रमित निको भएका छन् । अहिले देशभरि क्वारन्टीनमा ११ हजार २ सय ७५ जना छन् । अहिलेसम्म देशभर कोरोना भाइरस संक्रमण पहिचानका लागि ६ लाख १० हजार ४ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

leave a reply