काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालमा आइसियू र भेन्टिलेटरको अभाव देखिन थालेको छ । यही अनुपातमा संक्रमितको संख्या बढेको अवस्थामा अस्पतालमा आइसियू र भेन्टिलेटर पाउन मुस्किल हुनेछ ।
स्वास्थ्य मन्त्रालयका अनुसार बाग्मती प्रदेशमा १५ जना संक्रमित आइसियूमा उपचाररत छन् । काठमाडौं उपत्यकामा शनिवारसम्म संक्रमितको संख्या ५ सय ८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर १ हजार ५ सय ९५ ओटा आइसियू बेड र ९ सय ओटा भेन्टिलेटर छन् ।
यस्तै, ३ हजार ७६ आइसोलेसन बेड र २६ हजार ९ सय ३० वटा हस्पिटल बेड रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । उपत्यकाका अस्पतालमा ३ सय २ आइसियू बेड छन् । कोरोना भाइरस संक्रमितको उपचारका लागि सरकारले उपत्यकामा १ सय २० आइसियू बेड थप गर्ने निर्णय गरेको थियो ।
यही अनुपातमा संक्रमित बढ्दै गए सरकारसँग त्यसलाई धान्ने संरचना छैन । स्वास्थ्य मन्त्रालयका अनुसार २४ जना संक्रमित आइसियूमा उपचाररत छन् ।