ADVERTISING

Breaking News

जनकल्याण सामुदायिक वनमा अख्तियारको छापा

सुर्खेत : पश्चिम सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर ८ मा रहेको जनकल्याण सामुदायिक वनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले असार ८ र ९ गते दुई दिन सामुदायिक वनको स्थलगत निरीक्षण गरेको छ ।

आयोग सुर्खेतका प्रवक्ता मेघनाथ सापकोटासहितको विज्ञ टोलीले जनजागृति माविदेखि दक्षिणतर्फ भित्रि खोला, बुदुने खोला र बुढाथोकिको ठुलो घट् लगायतका क्षेत्रमा निरीक्षण गर्दा रुखहरु अवैध रुपमा कटानी भएको पाइएको जनाएको छ । विभिन्न संञ्चारमाध्यममा सामुदयिक वनमा अवैधरुपमा जंगल फडानी भएको समाचार प्रकाशन तथा प्रशारण भएपछि अख्तियारले छापा मारेको हो ।

सामुदायिक वनमा छपान रद्ध भएका २६, ३१ र ३८ नम्बरका सालका रुख सहित अन्य सानाठुला जामुन, तिजु असना जातका रुखहरु कटानी भएको अख्तियारले जनाएको छ । यसअघि वनको वार्षिक विधान र कार्ययोजना अनुसार गत २०७६ पुस ७ गते डिभिजन वन कार्यालयको पत्रमा जंगलमा रहेका रुखहरुमा ३३ सय ९१ क्युफिट बराबरको ठाडो रुखहरुमा काट्नको लागि टाचा लगाएको थियो ।

डिभिजन वन कार्यलय सुर्खेतको २०७६ पुस २७ गते पुनः अर्को पत्र लेख्दै पुराना टाचा लगाएका रुखहरु रद्ध गरेर थप नयाँ रुखहरु काट्नको लागी अनुमती दियो । तर सामुदायिक वनका पदाधिकारी र ठेकेदारहरुले पहिला टाचाँ लगाएका र पछिल्ला टाचाँ लगाएका दुबै रुख काटेर वन फडानी गरेका थिए ।

संञ्चारमाध्यमहरुमा समाचार आउन थालेपछि वनका पदाधिकारीहरुकै मिलेमतोतमा काटिएका रुख लुकाउन थालिएको थियो । जंगलफडानी भएको जानकारी पटकपटक डिभिजन वन कार्यालय सुर्खेतका प्रमुखलाई गराउँदा समेत डिभिजन वन प्रमुख गोविन्द्र प्रसाद दाहलले बेवास्ता गर्दै आएका थिए । संञ्चारमाध्यमहरुमा समाचार प्रकाशन तथा प्रशारण हुदाँ समेत कार्यालय प्रमुख दाहलले कसैलाई पनि कारवाही नगर्नु र अनुसन्धान नथाल्नुले उनीमाथी पनि प्रश्न खडा भएको छ ।

यसैबीच दमारे विद्यालय हुँदै कुनाथरी जाने भित्र सडकको छेउछाउमा जंगल फडानी गरी वन अतिक्रमण भइरहेको छ । अहिले त्यसक्षेत्रमा डोजर प्रयोग गरेर वन अतिक्रमण गर्दै घरटहराहरु निर्माण गरिएको स्थानीयहरुले बताएका छन् ।

यता अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले वन अतिक्रमण तथा फडानी भएको पाइएको दावी गरेको छ । अख्तियारका प्रवक्ता मेघनाथ सापकोटाले स्वीकृति दिएको भन्दा धेरै रुखहरु कटानी भई जंगल फडानी भएको स्थलगत निरीक्षणमा पाइएको बताए ।

उनले अख्तियारले अनुसन्धान थालिसकेको भन्दै पूर्ण प्रतिवेदन केही दिनमा सार्वजनिक गरेर सत्य, तथ्य बाहिर ल्याउने जिकिर गरे । उनले यसमा डिभिजन वन कार्यालय, सामुदायिक वनका पदाधिकारी र लेकगाउँ रेन्जपोष्टका कर्मचारीहरुको भुमिका शंकास्पद देखिएकाले अनुसन्धानको दायरामा ल्याइने उल्लेख गरे । अख्तियारले उनीहरु दोषी पाइए वन ऐन अनुसार कारवाही अगाडि बढाइने जनाएको छ ।

leave a reply