काठमाडौ । संयुक्त अरब इमिरेट्सबाट आज नेपालीलाई ल्याउने भनिएको पहिलो उडान अझै अनिश्चित छ । उडानसँग सम्बन्धित केही विषय अझै प्रस्ट हुन बाँकी रहेको भन्दै आज साँझका लागि तय भएको उडान आउने नआउने टुंगो नभएको हो । परराष्ट्रमन्त्रालयका अनुसार पहिले लिखित रुपमा निःशुल्क रुपमा जहाज बठाउने यूएईको दुतावासले जानकारी पठाएको थियो तर अन्तिम अवस्थामा भाडाको विषयमा कुरा आएपछि त्यसमा सैद्धान्तिक सहमति हुन नसकेकोले उडान रोकिएको हो । सो विषयमा दुतावास मार्फत सहमति जुटाउने प्रयास जारी छ । १ सय ६८ जना सिट क्षमताको विमानमा नेपालीलाई साँझ छ बजे ल्याउने तयारी थियो । पहिलो उडानमा भिजिट भिसामा आएर अलपत्र परेका र गर्भवतीलाई ल्याउन लागिएको हो । यूएईले आफ्नै खर्चमा एयर अरेबियाका आठ उडानमार्फत अलपत्र नेपालीलाई पठाउने तयारी गरेको छ । म्यानमारबाट २६ जना यात्रु बोकेको जहाज भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । नेपालवाट उसले अलपत्र परेका आफ्ना देशका नागरिक लैजाने छ । उद्धार गरिएकाहरुलाई काठमाडौंको चक्रपथ आसपासका पार्टी प्यालेसहरूमा प्रदेशगतरूपले कम्तीमा एउटा ‘होल्डिङ सेन्टर’मा राख्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य जाँचपछि उनीहरुलाई प्रदेशको समन्वयमा जिल्ला हुँदै स्थानीय तहसम्म पुग्ने ब्यवस्था मिलाइएको छ ।
भाडाको कुरा उठेपछि यूएईबाट नेपाली ल्याउने उडान अनिश्चित
