ADVERTISING

Breaking News

अग्रवाललाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइयो

काठमाडौं : कालोबजारीका आरोपमा पक्राउ परेका व्यापारी सुलभ अग्रवाललाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले बयानका लागि अदालतमा पेश गरेको हो । अदालतमा अहिले अग्रवालको बयान जारी रहेको छ ।

बयान केही घण्टा चल्ने बताइएको छ । बयान सकिएपछि थुनछेक बहस हुनेछ । बहसपछि उनी धरौटीमा रिहा हुने या कारागार चलान गर्ने भन्ने टुंगो लाग्नेछ । सरकारी वकिलको कार्यालयले कालोबजारी तथा माल–वस्तुको अनुचित सञ्चय गरेको आरोप लागेका व्यापारी सुलभ अग्रवालविरुद्ध हिजो मुद्दा दायर गरेको थियो ।

कार्यालयले अग्रवाललाई डेढ वर्ष कैद गरी १५ लाख रुपियाँ जरिवाना गर्न माग गरेको छ । उनलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कालोबजारी गरेका, कृत्रिम अभाव सिर्जना गरेको र २० प्रतिशतभन्दा बढी मुनाफा लिएर बेचबिचन गरेको गरी तीनवटा कसुर लगाइएको छ ।

आइतबार काठमाडौं प्रहरी परिसर, टेकुले अग्रवालविरुद्ध अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, बबरमहलमा बुझाएको थियो ।

यसअघि उनको मुद्दा काठमाडौं जिल्ला प्रशासन कार्यालयले हेरिरहेको थियो । कालोबजारी तथा केही सामाजिक अपराध तथा सजाय ऐन अनुसार मुद्दा जिल्ला प्रशासन कार्यालयको क्षेत्राधिकारभित्र थियो ।

तर, सार्वजनिक पद धारण गरेको व्यक्तिलाई थप डेढी सजाय हुने व्यवस्था अनुरुप अग्रवालविरुको मुद्दा जिल्ला अदालतमा पुगेको हो ।

अग्रवाल कीर्गिस्तानका अवैतानिक दूत थिए । ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा अग्रवाललाई गत चैत २५ गते ६७ थान थर्मल गनसहित प्रहरीले रंगेहात पक्राउ गरेको थियो ।

leave a reply