सुनसरी : सुनसरीमा लकडाउनको समयमा इटाभट्टा सञ्चालनको विषयमा भएको विवाद झडपमा परिणत हुँदा १३ जना घाइते भएका छन । लकडाउनको समयमा पनि सञ्चालन गरेको भन्दै विवाद उत्पन्न भएपछि सुनसरीको दुहबी–९ स्थित छातावेलीमा रहेको जयबाबा इँटा उद्योगमा झडप भएको हो ।
उद्योग संचालन हुँदा उद्योगमा कार्यरत भारतीय मजदुरहरु गाउँ घुम्ने गरेकोले जोखिम बढेको भन्दै स्थानीयले विरोध गरेपछि झडप भएको हो ।
घाइतेको अवस्था सामान्य रहेको बताइएको छ । स्थानीयले बडाध्यक्ष मेंहदी हुसैनले उद्योग चलाउन दिएका कारण समस्या आएको बताएका छन । उनले राहतका विषयमा स्थानीय विच झडप भएको बताए ।
देश लकडाउनमा भएको बेला पनि इँटा उद्योग संचालन भएको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए । ५ सयको संख्यामा इँटा उद्योगमा काम गर्ने पश्चिम बंगालका भारतीय मजदुरहरु किनमेल गर्ने बाहानामा गाउँ घुम्ने गरेको र तीनीहरुमध्ये केही लकडाउनको केही दिन अगाडि मात्र भारतबाट आएको स्थानीयले बताएका छन् ।