महोत्तरीमा धरौटी बुझाउन नसकेकै कारण ४८ जना अझै कारागारमै

महोत्तरी : अभियोगको प्रकृतिअनुसार पुर्पक्षका लागि थुनामा राखिरहनु नपर्ने भन्दै अदालतबाट धरौटी मागिन्छ तर त्यही धरौटी तिर्न नसकेर थुप्रै अभियुक्त जेल बस्न बाध्य छन् ।

महोत्तरी जिल्ला कारागारमा मात्रै धरौटी बुझाउन नसकेर जेल बस्नेको संख्या ४८ रहेको छ ।

महोत्तरीको औरही ९ भवानीगन्जका जंगबहादुर ठाकुर मोटरसाइकल चोरेको आरोपमा २०७८ माघ १० मा पक्राउ परे । आरोप प्रमाणित भएपछि अदालतले उनलाई माघ २८ मा १ लाख २५ हजार रुपैयाँ धरौटीमा छाडन आदेश दियो ।

तर धरौटी रकम जुटाउन नसक्दा उनी कारागार चलान भए । उनी कारागार चलान हुँदा परिवारको विचल्ली भएको छ । कारागारमुक्त गरिदिन परिवारले सहयोगको याचना समेत गरेको छ ।

जिल्ला अदालतले भने गत माघ २८ मा जंगलाई धरौटी रकम तिर्न नसकेकाले नियमअनुसार सिधा खाना खर्च खाई थुनामा बस्न पुर्जी दिएर कारागार पठाएको जनाएको छ ।

चार महिना बित्दा महोत्तरी जिल्ला अदालतले एकपटक पनि यस मुद्दामा सुनुवाइ गरेको छैन । महोत्तरीमा धरौटी रकम बुझाउन नसकेकै कारण कारगार चलान हुनेको संख्या ४८ रहेको जिल्ला अदालतको तथ्यांकले देखाउँछ ।

मुलुकी फौजदारी कार्यविधि संहिताले न्यायकर्ताले कसुरको प्रकृति र गम्भीरता, अभियुक्तको आर्थिक अवस्था तथा पारिवारिक स्थिति, कसुरबाट सिर्जित परिणामजस्ता विषयलाई हेरेर धरौटी माग गर्नुपर्ने व्यवस्था हो । तर विपन्न परिवार त्यही जुटाउन नसक्दा जेल पर्ने गरेका छन ।

सामान्यतया कुनै व्यक्तिविरुद्ध मुद्दा दायर भएपछि न्यायाधीशले थुनछेक आदेशमार्फत अन्तिम फैसला नआउँदासम्म अभियुक्तलाई थुनामा राखिरहने कि थुनामुक्त गर्ने भन्ने निर्णय दिन्छन् ।

फौजदारी कार्यविधि संहितामा अभियुक्तलाई थुनामै राख्ने, धरौटी मागेर तारिखमा छाडिदिने वा धरौटी समेत नमागी साधारण तारिखमा रिहा गर्ने व्यवस्था छ । तर धरौटी रकम बुझाउन नसक्दा धेरै अभियुक्त कारागार चलान हुने गरेका छन् ।

leave a reply

Techie