वायुसेवा सञ्चालक संघलाई प्राधिकरणको जवाफ- विमानस्थल हड्ताल गर्ने ठाउँ होइन

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थल हड्ताल गर्ने ठाउँ नभएको बताएका छन् ।

मंगलबार प्राधिकरण कार्यालयमा पत्रकार सम्मेलन गर्दै महानिर्देशक अधिकारीले हवाई सेवा अत्यन्तै महत्वपूर्ण सेवा भएकाले विमानस्थल हड्ताल गर्ने ठाउँ नभएको बताएका हुन् ।

उनले निजी वायुसेवा सञ्चालकहरु पनि अत्यन्तै जिम्मेवार भएकाले हवाइ उडान बन्द गरी नहाल्ने विश्वास रहेको बताए । उनले वायुसेवा सञ्चालक आफूहरुले भनेको काम गर्न पाइनँ भनेर बन्द गर्ने धम्की नदिन आग्रह गरे ।

प्राधिरकणले २०५७ सालबाट अहिले १ सय रुपैयाँ सेवा शुल्क बढाउँदा बढी हुने तर हवाई भाडा २५ सयबाट १० हजार पुग्दासमेत कसैले बिरोध नगरेको उनले बताए । महानिर्देशक अधिकारीले हवाई जहाज धनीले मात्रै चढ्ने भएकाले कसैले विरोध नदेखिएको समेत बताए ।

महानिर्देशक अधिकारीले एउटै विमानस्थलमा सबै वायुसेवाको जहाज राख्न त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल रत्नपार्क नभएको बताए । उनले सबै विमान कम्पनीहरुले विमान थप्दै जाने हो भने विमान कसरी चलाउने भन्दै प्रश्नसमेत गरे ।

अधिकारीले विमानस्थल पार्किङ गर्ने ठाउँ भएकाले एउटै ठाउँमा उडान, पार्किङ हुँदा असहजता बढ्दै गएको बताए । उनले वायुसेवा कम्पनीहरुलाई उडान, पार्किङ भन्दा पनि नीतिमा सहमति गर्न आग्रह गरे ।

उनले वायुसेवा कम्पनी पनि क्षमता र उडान समय थप्दै जानुपर्ने आवश्यकता रहेको बताए । अधिकारीले कम्पनीहरुले लाइलटहरु थपेर सेवालाई सुरक्षित बनाएमात्रै मुलुकको आर्थिक विकास रोजगारी सिर्जना हुने बताए ।

महानिर्देशक अधिकारीले त्रिभूवन विमानस्थलको आन्तरिक तर्फको क्षमता १७ वटा विमान बस्ने भएको बताए । उनले १७ वटा क्षमता हुँदाहुँदै अहिले ४० वटासमेत विमान राखिने गरेको बताए ।

पार्किङ समस्या रहेकाले अब नेपालमा रहेका पूर्वदेखि पश्चिमसम्मका विमानस्थलमा ६६ प्रतिशत विमान बाहिर लगिने उनको भनाई छ ।

महानिर्देशक अधिकारीले नेपालको हवाई सेवा निजी र सरकार दुवैको महत्वपूर्ण योगदानको कारण अहिले यो स्थानमा रहेको बताए ।

leave a reply

Techie