जनकपुरबाट भैरहवा जाँदै गरेको बस दुर्घटना, नौ जनाको मृत्यु

काठमाडौ । जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको यात्रुसहितको बस भैरहवा–परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । लु २ ख ३८४१ नम्बरको उक्त रात्रिकालीन बस रुपन्देहीको रोहिणी गाउँपालिका चार र ओमसतिया गाउँपालिका चारको सीमामा पर्ने रोहिणी खोलाको पुलबाट तल खसेर दुर्घटना भएको हो । बस दुर्घटनाका घाइतेमध्ये भीम अस्पतालमा चार जना र युनिर्भसल शिक्षण अस्पतालमा पाँच जना गरी नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ज्यान गुमाउने नौ जनामध्ये पाँच जनाको पहिचान खुलेको छ । दुर्घटनामा बुटवलको योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल, रौतहटका २० वर्षीया दिनेश दास, रूपन्देहीकै ओमसतिया गाउँपालिका चार मटेरियाका राजेन्द्रप्रसाद पाण्डे र भारत जनकापुर गा्रमका ४० वर्षीय अरविन्द शर्माको मृत्यु भएको हो । घाइतेहरुको भैरहवास्थित भीम अस्पतालमा र युनिभर्सल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनामा चौबिस यात्रु घाइते भएका छन । घाइते मध्ये पन्ध्र जनाको अवस्था गम्भिर रहेको छ । अन्यको अवस्था सामान्य छ । बसमा सवार तेतिस जना यात्रुमध्ये पच्चिस जना पुरुष, छ महिला र दुई बालिका थिए । तीनवटा जेसीभीको माध्यमबाट दुर्घटनामा परेको बसलाई पल्टाएर यात्रुको उद्धार गरिएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । बस तिब्र गतिमा रहेका कारण पुलवाट खोलामा खसेको अनुमान प्रहरीले गरेको छ ।

leave a reply

Techie