अमेरिकी सहायकमन्त्रीलाई गुम्बा जाने अनुमति किन दिइयो ?: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधवार संसदमामा बोल्दै सरकारले अमेरिकी उपमन्त्रीलाई तिब्बती शरणार्थीहरूलाई भेट्न दिएको विषयमा संसदमा जवाफ मागे गरेका छन् ।अमेरिकी विदेश मन्त्रालयको नागरिक सुरक्षा, प्रजातन्त्र तथा मानवअधिकार सम्बन्धी उपमन्त्री उज्रा जेया नेपालस्थित तिब्बती शरणार्थी शिविरमा पुगेको विषय उठाउँदै ओलीले अहिलेको सरकारले विदेशी कूटनीतिज्ञ, मन्त्रीहरू र प्रतिनिधिहरूको भ्रमणलाई न्यूनतम कूटनीतिक मर्यादा र अन्तर्राष्ट्रिय मान्यताअनुकुल बनाउन नसकेको आरोप लगाए ।

एमाले अध्यक्ष ओलीले नेपालको संविधानले विदेश नीतिमा तटस्थता, आफ्नो राष्ट्रिय स्वतन्त्रता र स्वतन्त्र परराष्ट्र नीति आफैं तय गर्ने, कुनै पनि राष्ट्रका व्यक्तिलाई कहाँ जान दिने, कहाँ नदिने भन्ने स्पष्ट पारेको बताए । उनले आफू यही मुलुकको पूर्वप्रधानमन्त्री भएर पनि हुम्लाको लिमी जाँदा अनुमति लिएको भन्दै अर्को मुलुकको सहायक मन्त्री आउँदा गुम्बामा जान किन अनुमति दिएको भनेर प्रश्न गरे ।

ओलीले नेपाल एक चीन नीति मान्छ कि मान्दैन भन्ने प्रश्नको जवाफ प्रधानमन्त्री देउवाले दिनुपर्ने बताए । उनले छद्म ढंगले कुनै गतिविधि गर्न नपाइने पनि बताए । नेपालको परराष्ट्र नीति र व्यवहार छिमेकी मित्रराष्ट्रहरूप्रति पूर्ण इमान्दार हुनुपर्ने भन्दै उनले विश्वास र भरोसाका सम्बन्ध अझ बलियो बनाउनुपर्ने बताए ।

उनले बुढीगण्डकी र अरुण ४ को विषयमा सिंगो राष्ट्रलाई स्पष्ट पार्न समेत सरकारलाई आग्रह गरे ।

leave a reply

Techie