पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मूल्यबृद्धि, आयल निगम अझै मासिक छ अर्ब घाटामा

काठमाडौ । नेपाल आयल निगमले पछिल्लो पटकको मूल्य वृद्धिपछि पनि पाक्षिक (१५ दिनको) नोक्सानी ३ अर्ब ३५ करोड रहने जनाएको छ । विज्ञप्तिमार्फत निगमले हालको खपतअनुसार सबै इन्धनमा समायोजनपश्चात पाक्षिक ३ अर्ब ३५ करोड अर्थात मासिक ६ अर्ब ७० करोड नोक्सानी रहने अनुमान गरेको हो । निगमका अनुसार अब पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ६४ पैसा र डिजेलमा २६ रुपैयाँ ८२ पैसा नोक्सानी छ । त्यस्तै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ८७९ रुपैयाँ ७५ पैसा नोक्सानी छ । मट्टितेलमा भने प्रतिलिटर २२ रुपैयाँ ११ पैसा, हवाई इन्धन आन्तरिकमा १३ रुपैयाँ ९८ पैसा र वाह्य हवाई इन्धनमा ५९ रुपैयाँ ८१ पैसा नाफा रहेको निगमले प्रष्ट पारेको छ । यस हिसावले डिजेलमा सबैभन्दा धेरै पाक्षिक १ अर्ब ६९ करोड र ग्यासमा १ अर्ब ४६ करोड नोक्सानी रहने निगमको अनुमान छ । विदेशी मुद्रा खर्च गरी महँगो मूल्यमा आयात गर्नुपर्ने पेट्रोलियम पदार्थको प्रयोग सकेसम्म कम गरी विद्युत् लगायत स्वदेशी ऊर्जाको खपत बढाउनुपर्ने आवश्यकता निगमले औंल्याएको छ । निगमले आगामी दिनमा लागत मूल्यमै इन्धन बिक्री गर्ने संकेत समेत गरेको छ । विज्ञप्तिमा निगमले आपूर्ति तथा बिक्री सहज बनाइराख्न लागत मूल्यकै आधारमा पेट्रोल, डिजेल तथा एलपी ग्यास बिक्री गर्नुपर्ने बाध्यता भएको जनाएको छ । यसअघि आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर दुई सय रुपैया बढाएको थियो । अब पेट्रोल प्रतिलिटर १ सय ८०, डिजेल तथा मट्टितेल १ सय ६३ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १८ सय कायम भएको छ ।

leave a reply

Techie