नेपाली महिला क्रिकेट टिमको युगान्डासँग लगातार तेस्रो हार

काठमाडौं। पहिलो पटक घरेलु मैदानमा टी २० अन्तर्राष्ट्रिय शृंखला खेलेको नेपाली महिला क्रिकेट टिमले युगान्डासँग लगातार तेस्रो हार व्यहोरेको छ। नेपाल युगान्डासँग ६ विकेटले पराजित भएको छ। यस हारपछि युगान्डाले पाँच खेलको श्रृङ्खला दुई खेलअघि नै आफ्नो पक्षमा पारेको छ। पहिलो खेलमा नेपाल युगान्डासँग १२ रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपाल १ रनले पराजित भएको थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ८ विकेट गुमाएर ९९ रन बनाएको थियो। १०० रनको लक्ष्य पाएको युगाण्डाका लागि ओपनर केभिन अविनोले सर्वाधिक ४२, जानेट एमबाबाजाईले २७ रन, रिता मुसामलीले ९ रन बनाइन्। केभिन र जानेटले गरेको ६६ रनको साझेदारी नै युगान्डाको जितको आधार बनेको हो। नेपालका लागि कविता कुँवरले ३ ओभरमा २२ रन खर्चेर २ विकेट लिइन् भने कप्तान रुबिना क्षेत्री र इन्दु बर्माले समान एक एक विकेट लिए। पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक ४७ रन बनाइन्। ५४ बल खेलेकी उनले ५ चौका प्रहार गरिन्। कप्तान रुबिना क्षेत्रीले १५ बल खेल्दै २ चौका मद्दतमा अविजित १८ रन जोडिन्। अर्की ओपनर बिन्दु रावल ४ रनमा बोल्ड भइन्। तेस्रो क्रममा आएकी सीता राना मगरले १२ रन बनाइन्। युगान्डाको लागि फिनोमा कुलुमी, कोन्की ओन्के र सारा अकितेङले २ र २ विकेट लिए।

leave a reply

Techie