बैंकमा अझै तरलता अभाव

काठमाडौं। तरलता अभावको समस्या बढ्दै गएपछि बैंक, वित्तीय संस्थाले निक्षेपभन्दा बढी रकम नेपाल राष्ट्र बैंकबाट सापटी लिएका छन्। चालू आर्थिक वर्ष २०७८र७९ को वैशाख २९ सम्ममा राष्ट्र बैंकले ७४ खर्ब २ अर्ब ६४ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । राष्ट्र बैंकले बजारमा पठाएको रकम बैंकहरूको कुल निक्षेपभन्दा बढी हो। चालू आवमा निक्षेप वृद्धिको तुलनामा अधिक कर्जा प्रवाहका कारण बजारमा तरलता अभाव भएपछि बैंकहरूले अत्यधिक रकम सापटी लिएर काम चलाएका हुन्। चालू आवको चैतसम्ममा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप गत आवको तुलनामा ४ दशमलव १ प्रतिशत २ खर्ब ३७ अर्ब ८५ करोड रुपैयाँले वृद्धि हुँदा कर्जा भने १२ दशमलव ८ प्रतिशत ९५ खर्ब ५८ अर्ब ९९ करोड रुपैयाँले वृद्धि भएको राष्ट्र बैंकले जानकारी दिएको छ।

राष्ट्र बैंकका अनुसार सबैभन्दा बढी स्थायी तरलता सुविधामार्फत ६९ खर्ब १५ अर्ब ९६ करोड रुपैयाँ सापटी लिएका छन्। यसैगरी रिपोमार्फत ३ खर्ब २५ अर्ब ९१ करोड, ओभरनाइट रिपोबाट १ खर्ब ६० अर्ब ७६ करोड, सोझै खरीद उपकरणमार्फत ५५ अर्ब ९१ करोड रुपैयाँ सञ्चालन गरेका हुन्। यसमध्ये २ खर्ब ११ अर्ब रुपैयाँ बैंकहरूसँगै छ। बैंकहरूमा निक्षेप वृद्धि हुन नसकेपछि बैंकहरूले राष्ट्र बैंकमा राख्नुपर्ने अनिवार्य नगद मौज्दात सीआरआर व्यवस्थापनका लागि मौद्रिक उपकरणमार्फत सापटी लिने गरेका छन्। बैंक तथा वित्तीय संस्थाहरूले कुल निक्षेपको ३ प्रतिशत रकम सीआरआरका रूपमा राष्ट्र बैंकको खातामा राख्नुपर्छ। निक्षेप वृद्धि नभएपछि बैंक, वित्तीय संस्थाले राष्ट्र बैंकबाट सापटी लिएर तोकिएको सीआरआर व्यवस्थापन गर्ने गरेका छन्। एसएलएफ सापटी चलाउँदा राष्ट्र बैंकलाई ७ प्रतिशत ब्याज तिर्नुपर्छ। राष्ट्र बैंकले पुस १२ गतेबाट एसएलएफको ब्याजदर ५ प्रतिशतबाट बढाएको हो। ब्याजदर वृद्धि भएपछि पनि एसएलएफलको प्रयोग घटेको छैन ।

leave a reply

Techie