अरुण चौथो जलविद्युत निर्माणका लागि भारतसँग सम्झौता, नेपालले २२ प्रतिशत बिजुली निःशुल्क पाउने

काठमाडौ । संखुवासभास्थित अरूण नदीमा अरूण–४ अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्न नेपाल विद्युत प्राधिकरण र भारतको सतलज जलविद्युत निगमबीच सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । लुम्बिनी र भारतको कुशिनगरबीच भागिनी सम्बन्धन स्थापना गर्ने सैद्धान्तिक सहमति समेत भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सतलजका अध्यक्ष नन्दलाल शर्माले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

चैत महिनामा भएको प्रधानमन्त्री देउवाको भारत भ्रमण क्रममा दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त अवधारणाापत्र तयार पारिएको थियो । त्यसैबमोजिम सरकारी स्वामित्वका संस्थाहरूको संयुक्त लगानीमा अरूण–४ को निर्माण अघि बढाउन लागिएको हो । नौ सय मेगावाटको अरूण तेस्रो जलविद्युत आयोजनामा जस्तै अरूण–४ बाट पनि नेपालले मासिक २१.९ प्रतिशत निःशुल्क बिजुली पाउने छ ।

यो आयोजनाको क्षमता ६९५ मेगावाट रहेकाले त्यसको २१.९ प्रतिशतका दरले १५२ मेगावाट बिजुली नेपालले निःशुल्क पाउने छ । आयोजनाबाट उत्पादित बिजुली भारत निर्यात गर्ने गरी डिजाइन गर्दा आयोजनाको क्षमता विस्तार भई ६९५ मेगावाट पुग्ने बताईएको छ । आयोजना निर्माण गर्न प्राधिकरणको ४९ र सतलजको ५१ प्रतिशत सेयर स्वामित्व रहने छ । यसै गरि गौतमबुद्धको जन्मभूमि रहेको शहर लुम्बिनी र भारतको कुशिनगरबीच भागिनी सम्बन्धन स्थापना गर्ने सैद्धान्तिक सहमति समेत दुई देशका प्रधानमन्त्री बीच भएको छ । यसै गरी भारतीय शैक्षिक एवं सांस्कृतिक प्रतिष्ठानले लुम्बिनी बौद्ध विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित एक–एकवटा तथा काठमाडौँ विश्वविद्यालयसँग तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आइसिसीआर), त्रिभुवन विश्वविद्यालय नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) र आइसिसीआर, काठमाडौँ विश्वविद्यालय र आइसिसीआर, सोही विश्वविद्यालय र चेन्नईस्थित भारतीय प्रविधि प्रतिष्ठानसँग अन्य दुईवटा सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ ।

leave a reply

Techie