एन्फा अध्यक्ष शेर्पा माथि खनिए पूर्वअध्यक्ष थापा, आठ वर्षअघि लगाएका आरोप प्रमाणित गर्न चुनौती

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले सात वर्षअघि आफू पदच्यूत हुने समयमा लगाइएका आरोप प्रमाणित गर्न एन्फाका वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई चुनौति दिएका छन् । एन्फा कार्यसमिति निर्वाचन नजिकिँदै जाँदा अहिलेको असन्तुष्ट पक्षलाई सजिलो हुने गरी फिफा र एएफबीबाट प्रतिबन्धित गणेश थापाले पत्रकार सम्मेलन गर्दै देशभित्र आफूमाथि कर्मा छिरिङ शेर्पाले लगाएको आरोप पुष्टि गर्न चुनौति दिएका हुन् ।

आगामी असार ६ गते एन्फा कार्यसमिति निर्वाचन हुँदैछ । थापाले आफ्नो सार्वजनिक कार्यक्रम एन्फाको चुनाव प्रभावित पार्ने रणनीतिको हिस्सा नभएको दावी गरे पनि पत्रकार सम्मेलनमा उनले एन्फा निर्वाचनमा पुनः अध्यक्ष पदको उम्मेदवारी दिने तयारी गरेका शेर्पामाथि प्रहार गरिरहे ।

थापाले आफूलाई अपदस्थ गर्न शेर्पा नेतृत्वको समूहले लगाएको १४ आरोपको पुष्ट्याईं माग गरेका छन् । जहाँ उनी एन्फा अध्यक्ष हुदाँदेखिको आर्थिक अपचलन, भ्रष्टाचार र अवैध सम्पत्ति आर्जनसम्मको आरोप छ ।

२०७१ मा एन्फाका तत्कालीन उपाध्यक्ष रहेका कर्माछिरिङ शेर्पाले थापाले ५८ करोड भ्रष्टाचार गरेको भन्दै संसदको सार्वजनिक लेखा समितिमा उजुरी दिएका थिए। त्यसपछि २०७१ असोज १२ गते लेखा समितिले गणेश थापा संलग्न अखिल नेपाल फुटबाल संघ (एन्फा) का विभिन्न परियोजनामा ५८ करोड रुपैयाँ अनियमितता भएको आशंकामा छानबिन गर्न अख्तियारलाई निर्देशन दिएको थियो।यद्यपी अख्तियारले यो विषयलाई तामेलीमा राखेको थियो।

आठ वर्षपछि थापाले आफूमाथिको उक्त आरोप अझै पुष्टि नभएको भन्दै शेर्पालाई प्रमाणित गर्न चुनौती दिएका छन्।

पत्रकार सम्मेलनमा शेर्पाले तत्कालीन समयमा बोलेका भिडियो क्लिप र अडियो रेकर्ड सुनाउँदै थापाले भने, ‘सात वर्षदेखि म र मेरो परिवारले व्यहोरेको मानसिक पीडा यहाँ बयान गर्न सकिँदैन । भविष्यमा सन्तत्तिहरुमाथि मेरो कारणले दाग नलागोस भनेर आरोपको छिनोफानो होस भन्ने चाहन्छु,’ थापाले पत्रकार सम्मेलनमा भने । उनले १४मध्ये एउटामात्र आरोप प्रमाणित भए आफू फुटबलबाट सदाका लागि टाढा रहने दावी गरे ।

अनियमित तवरबाट व्यक्तिगत लाभ लिएको पुष्टि भएपछि सन् २०१५ को नोभेम्बरदेखि गणेश थापा विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)को १० वर्षे प्रतिवन्धमा छन् ।

थापाले आफूमाथि निराधार आरोप लगाउने एन्फा अध्यक्षविरुद्ध कानूनी लडाईंमा जाने उद्घोष गरेका छन् । फिफा र एन्फाको नियम स्मरण गराउँदै उनले भने, ‘कसैलाई पनि विना प्रमाण आरोप लगाउन पाइँदैन । आरोप लगाएपछि यति लामो समयसम्म प्रमाणित गरिनसकेकाले अब अदालतदेखि फिफासम्म अपील गर्ने थापाले बताए ।

leave a reply

Techie