कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरमा दम्पतीको मृत्यु भएको छ । जङ्गली हात्तीको आक्रमणबाट शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ वसन्तपुर बस्ने ५५ वर्षीय ध्वज बहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मथुरा कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्ण बहादुर बोहराले जानकारी दिए । उनका अनुसार, बुधबार बिहान साढे ३ बजेतिर खेतबारीमा भैँसी आएको ठानी भगाउन निस्किएका कार्की दम्पतीलाई हात्तीको बथानले आक्रमण गरी मारेको हो । मृतक कार्की दम्पतीको महाकाली प्रादेशिक अस्पतालमा शव परीक्षण गरी परिवारजनलाई बुझाइने प्रहरीले जनाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट पछिल्लो दुई महिनायता शुक्लाफाँटा नगरपालिका, वेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाका विभिन्न बस्तीहरूमा जङ्गली हात्तीको बथान पस्ने गरेको थियो । ३०–३५ को संख्यामा रहेका जङ्गली हात्तीहरू ४ समूहमा छरिएर दिउँसोको समयमा कहिलेकाहीँ बस्तीमा देखिए पनि रातिको समयमा प्रायः जसो बस्तीमा पस्ने गरेको बताइएको छ ।

leave a reply

Techie