आज जनैपूर्णिमा अर्थात रक्षा बन्धन पर्व, हातमा डोरो बाँध्ने र क्वाँटी खाएर मनाउने प्रचलन

तराईमा राखीको रौनक

काठमाडौ । आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व, धुमधामका साथ मनाइँदैछ प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा पर्व मनाउने प्रचलन छ । आजको दिन आत्मशुद्धि र शरीरको रक्षाका लागि पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन छ । दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै दिदी बहिनीले आफ्ना दाजुभाइलाई नाडीमा राखी बाँध्ने समेत चलन छ । त्यस्तै स्नान गरी ब्राह्मणले मन्त्रेको जनै पनि लगाउने चलन छ । जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, चना, सिमी, बोडी लगायत नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाटलगायत धार्मिक क्षेत्रमा श्रद्धालु भक्तजनको घुईंचो लागेको छ ।

मिथिलामा राखी

मिथिला क्षेत्र सहित तराइका जिल्लाहरुमा आज ‘राखी’ पर्व मनाइँदै छ । साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातका नाडीमा रक्षासूत्र अर्थात डोरो वा धागो बाँधिदिने परम्परा रहेको छ । राखीसँगै मिथिलाका दिदीबहिनीहरुले दाजुभाइलाई मिठा मिठा परिकार ख्वाउने चलन छ । पर्वमा दिदीबहिनीले राखी बाँधिदिएर मिष्ठान्न परिकार खुवाएपछि दाजुभाइले वस्त्रआभूषण र नगद दक्षिणा चेलीलाई दिने गर्दछन् । पर्वका लागि दिदीबहिनीको राखी बाँध्ने निम्ता मान्न टाढाटाढा बस्ने दाजुभाइ घर फर्केका छन् । मिथिलामा यस पर्व विवाह भएका दिदीबहिनीले आफ्नै घर वा माइतमा सुविधाअनुसार मनाउँछन् । मिथिलाका सबै क्षेत्रमा दाजुभाइ÷दिदीबहिनीबीच प्रेम, सद्भाव र एकअर्काप्रतिको समर्पण भाव झल्कने गीत समेत गाउने चलन छ । राखी पर्व मिथिलामा सबै जातजाति, सम्प्रदाय र धर्मावलम्बीले मनाउने गरेका छन् । रक्षावन्धन पर्वमा गुरुपुरोहितले अभिमन्त्रित डोरा शिष्य र यजमानलाई बाँधिदिने चलन पनि मिथिलामा छ ।

leave a reply

Techie