काठमाडौं । माओवादीका पूर्वसांसदले पुर्नवहालीको माग गर्दै दायर रिट निवेदनमाथि माथि सुनुवाइ स्थगित भएको छ।बिहीबार हेर्न नभ्याइनेमा परेको रिटको सुनुवाइ अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिए पनि निवेदकका कानुन व्यवसायीले आजको पेशी स्थगित गर्न आग्रह गरेपछि स्थगित गरिएको सर्वोच्च अदालतले जनाएको छ।
नेकपा एमालेमा प्रवेश गरेपछि कारबाहीमा परेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साहले आफूहरू नेकपा माओवादी केन्द्रमै रहेकाले सांसद पदमा पुनःवहाली गर्न माग गर्दै १३ साउनमा रिट दर्ता गरेका थिए । चारैजना पूर्व सांसदले यसअघि माओवादीविरुद्ध निर्वाचन आयोग पनि निवेदन दिएका थिए । माओवादीको वैधानिकता सकिएको भन्दै पार्टीको दर्ता खारेज गर्न माग गरिएको निवेदन आयोगले अस्वीकार गरेपछि उनीहरु सर्वोच्च अदालत पुगेका हुन ।