एक तिहाइ जनसंख्याले असोजसम्म कोरोना भाइरस विरुद्धको खोप पाउने

काठमाडौं- सरकारले असोजसम्ममा एक तिहाइ जनसंख्याले कोरोना भाइरस विरुद्धको खोप पाइसक्ने जनाएको छ ।

हालसम्म नेपालमा ६५ लाख ८२ हजार ८ सय ५० मात्रा खोप नेपाल आइसकेको र केही खोप आउने क्रममा रहेकाले तीन महिनाभित्र एक तिहाइ नागरिकले खोप पाइसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । केही दिनभित्रै ६४ लाख मात्रा खोप आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ । जापानबाट थप १६ लाख मात्रा खोप आउँदै छ । जापानबाट आउने खोप पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका १४ लाख जेष्ठ नागरिकलाई दिने तयारी छ ।

चीनले थप १६ लाख मात्रा खोप अनुदानमा दिने जानकारी दिएको छ । कोभ्याक्समार्फत नै अमेरिकी सरकारले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८ सय ५० मात्रा खोप सोमबारदेखि लगाउने तयारी छ । हालसम्म नेपालमा २७ लाख ६८ हजार नागरिकले कोभिसिल्ड र भेरोसेल खोपको पहिलो मात्रा लगाइसकेका छन । दुबै मात्रा खोप लगाउनेको संख्या भने ११ लाख २० हजार २ सय ८२ रहेको छ । नेपालले हालसम्म भारतबाट १० लाख र चीनबाट आठ लाख गरेर १८ लाख मात्रा खोप ल्याइसकेको छ ।

चीनसँग खरिद गरेको बाँकी ३२ लाख मात्रा खोप आउन बाँकी छ भने भारतसँग खरिद गरेको १० लाख मात्रा खोप आएको छैन ।

leave a reply

Techie