युरोमा रोनाल्डोले बनाए सर्वाधिक गोलकर्ताको किर्तिमान

युरोपियन च्याम्पियनसिपमा ग्रुप अफ डेथ मानिएको ग्रुपको खेलमा फ्रान्स र पोर्चुगल जित निकाल्न सफल भएका छन् । फ्रान्सले जर्मनीलाई एक शुन्यले हराउदै फ्रान्सले विजयी सुरूवात गर्यो । खेलको २० औ मिनेटमा आत्मघाती गोलमा फ्रान्सले अग्रता बनायो । पल पोग्बाले दिएको पासलाई लुकास हर्नान्डेजको प्रहार जर्मनीका डिफेन्डर म्याट्स हमल्सले क्लियर गर्न खोज्दा उनको खुट्टामा लाग्दै गोलमा परिणत भयो । यही गोलमा पहिलो हाफ एक शुन्यको नतिजामा सकियो । जर्मनी खेलमा फर्कन आतुर थियो भने उसको केहि उत्कृष्ट प्रयास सफल हुन सकेन । यता ८५ औ मिनेटमा फ्रान्सका किलियन एम्बापेको क्रसमा करिम बेन्जेमाले गोल गरे । तर भिएआरको सहायताले रेफ्रीले यसलाई मान्यता दिएनन् । यसरी आत्मघाती गोल नै निर्णायक बन्यो र फ्रान्सले जर्मनीलाई एक शुन्यले हरायो । अर्को खेलमा डिफेन्डिङ च्याम्पियन पोर्चुगलले हंगेरीलाई तीन शुन्यले हराउदै सुखद सुरूवात गरेको छ। पोर्चुगलको सानदार जितमा क्रिस्टियानो रोनाल्डोले किर्तिमानी गोल गर्दै युरोमा सर्वाधिक गोल गर्ने रेकर्ड आफ्नो नाममा दर्ज गरेका छन् । हंगेरीले पोर्चुगललाई कडा चुनौती दिएपनि खेलको अन्त्यमा सम्हालीन सकेन र पोर्चुगलले बाजी मार्यो । खेलको ८३ औ मिनेटसम्म हंगेरीले पोर्चुगललाई रोक्यो । तर अन्तिम छ मिनेट सम्हालीन सकेन । ८४ औ मिनेटमा रफायल गरेरोले हानेको प्रहार हंगेरीका डिफेन्डरलाई लागेर गोल भयो र हंगेरीको दुर्भाग्य सुरू भयो । यसको दुई मिनेटपछि विली ओर्बानले रफा सिल्भालाई लडाएपछि पोर्चुगलले पेनाल्टी पायो। जसलाई क्रिस्टियानो रोनाल्डोले चुकाएनन् । इन्जुरी समयमा पनि रोनाल्डोले गोल गरे र पोर्चुगलले तीन शुन्यले खेल जित्यो । रोनाल्डो युरोमा सर्वाधिक गोल कर्ताको रेकर्ड बनाउन पनि सफल रहे । उनले पाँच युरो खेली ११ गोल गरेका छन् ।

leave a reply

Techie