खोपमा प्रकरण : आफ्नै मन्त्रीको भनाइ खण्डन हुने गरी स्वास्थ्य मन्त्रालयकाे विज्ञप्ति

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै मन्त्रीको भनाइ खण्डन हुने गरी विज्ञप्ति जारी गरेको छ । कोरोना भाइरसविरुद्धको खोप खरिद प्रकरणमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज जारी गरेको विज्ञप्तिमा सरकार, मन्त्रालयलगायत संलग्न गरी आएका समाचारहरुमा सत्यता नरहेको जनाएको हो ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले हिमाल खबरसँगको अन्तर्वार्तामा बिचौलियाको चलखेलका कारण नेपालमा खोप आउन नसकेको बताएका थिए ।उनले स्थानीय एजेन्टको बढी सक्रियताले खरिद प्रयास असफल भएको र बिचौलियाले १० प्रतिशत कमिसन लिन खोजेको जनाएका छन् ।

‘त्यो क्रियाकलपाले २७ दिनसम्म अप्ठ्यारोमा परियो । जाबो चार साता त रहेछ नि नभन्नुुहोला । यो २७ दिन यति निर्णायक भयो, भारतमा ह्वात्तै संक्रमण बढ्न थाल्यो । त्यही कारण ५० लाख डोज खोप खरिद प्रक्रिया अगाडि बढ्न सकेन,’ उनले भनेका छन् । तर, मन्त्रालयको विज्ञप्तिमा ‘औषधि व्यवस्था विभागको आपतकालीन प्रयोगका लागि अनुमति प्राप्त कोभिसिल्ड खोप २० लाख डोज ४ डलरमा खरिद गरिएको मध्ये १० लाख प्राप्त गरिसकिएको, जसमा बाँकी खोप वर्तमान विश्व परिस्थिति र भारतको अवस्थाले सेरम इन्स्टिच्युट अफ इन्डियाले नेपाललाई खोप आपूर्ति गर्नु आफ्नो प्राथमिकता रहेको तर सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुने बित्तिकै आपूर्ति गर्ने जानकारी दिएको छ’ भनी उल्लेख छ ।

सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियाबाट नेपालमा कोभिसिल्ड खोप नआउनुमा कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध हुनु कारण रहेको कम्पनीबाट जानकारी प्राप्त भएको जनाएको छ । मन्त्रालयले थप ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था हाललाई नरहेको पनि जनाएको छ । यस्तै अन्य कम्पनीका खोपहरुले औषधि व्यवस्था विभागका स्वकिृति पाएको र पाउने क्रममा रहेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्ति :

 

leave a reply

Techie