गाँजाकाे उपयाेगिता र लुकेकाे सम्पन्नता

  • केदार कोइराला

दीर्घजीवनकाे भरपर्दाे ओखती हाे गाँजा । नकारात्मक सन्देश प्रवाह गरेर फैलिएकाे ‘गँजडी’ शब्दभित्र सम्पन्नता लुकेकाे यथार्थ बुज्नेलाई श्रीखण्ड नबुज्नेलाई खुर्पाकाे बिंड भैरहेकाे छ । वेद पुराण र शास्त्रार्थ देखि विज्ञानकाे अनुसन्धानले पनि पुष्टि गरेकाे सत्य हाे गाँजा आफैंमा खराब हुँदै हाेइन । औषधिय गुणकाे खानी हाे गाँजा भनिरहँदा उल्लीविल्लि लगाउनेहरूकाे कमि हुँदैन । सत्य र तथ्यमा पुगेर गाँजाकाे अनुसन्धानमा लागेकाहरू पक्कै मस्तिष्क शून्य भएका हाेइनन् । राज्यले नियन्त्रणमुखी कानून बनाउँदा नदेखाेकाे पाटाेकै कारण सम्पन्नताकाे बाटाेमा अवराेध सिर्जना भएकाे हाे । छाेराे गँजडी भाे भनेर कानून बनाउने मानसिकता भएका अदुरदर्शी कर्मचारी र असक्षम शासककाे अल्पज्ञानले मुलुककाे भविष्यमाथि बादल मडारिएकाे हाे । विश्व बजारले मागेकाे नेपाली गाँजा र खाेटाे कानूनले लगाएको गाँजामाथिकाे प्रतिबन्ध फुकुवा गर्न ढिला गर्न हुँदैन अब । सुखी नेपाली समृद्ध नेपाल भनेर कुर्लिनेहरूले के साँच्चै समुन्नत नेपाल चाहेकाे हाे ? हाे भने त्याे लक्ष्यमा पुग्ने सफल यात्रा हाे गाँजाकाे वैधानिकता ।

नेपमलमा गाँजामा किन लाग्याे प्रतिबन्ध ? एउटा समय थियाे जुन समयमा नेपाल हिप्पीहरूकाे जक्सन भनेर चिनियाे । नेपाल आउने हिप्पीहरू अधिकांश अमेरिकन हुन्थे । अमेरिकाले पनि गाँजा प्रतिबन्ध लगाएकाे थियाे आफ्नाे देशमा । गँजडीकाे बाहुल्यता रहेकाे अमेरिकी हिप्पीयुगकाे गन्तव्य थियाे नेपाल । आफ्ना युवापुस्ता गाँजामा तल्लिन हुन लागेकाे देखेर अमेरिकाकाे विशेष अनुराेधमा नेपालमा पनि गाँजा प्रतिबन्ध भयाे । प्रतिबन्ध पश्चात झाेछेंकाे व्यापार सुक्याे गाँजा र गँजडीकाे संख्या घटेन । कालबेला परिवर्तन सँगसँगै सम्पन्न मुलुकहरूकाे प्रतिबन्ध फुक्दै गयाे, गैरहेकाे छ । नेपालकाे परिवेशमा गाँजाकाे महिमा आराध्यदेव शिवकाे खुराक भनेर प्रचार भयाे । जाेगीकाे आहारा भनेर पनि गाँजाकाे अबमुल्यन गरियाे । दुर्व्यसनसँग जाेडेर बहुउपयाेगी गाँजा ट्यापेकाे नसामै दुर्नाम भयाे । सकारात्मक साेचसहित गाँजाकाे औषधिय गुण र यसका बहुउपयाेगी पक्ष लुकाएर बदनाम मात्रै गर्ने काम गर्‍यो राज्यले ।

पछिल्लाे घटनाक्रम स्मरण गर्ने हाे भने गाँजाकाे महिमा संसदभित्र प्रवेस गरिसकेकाे छ । प्रतिबन्ध फुकुवा गरेर व्यवस्थित ढंगले गाँजाकाे बैध खेती गर्ने उत्सुकता बढेकाे छ । नेपालकाे हावापानी र गाँजाकाे उब्जनी भाेलिका दिनमा सम्पन्नताकाे आधार बन्नसक्ने सम्भावना देखिँदै छ । युवा बेराेजगारकाे कहाली लाग्दाे दृश्य अन्त्यकाे भरपर्दाे स्वराेजगारी बन्न सक्नेतर्फ जानकारहरूले अध्ययन केन्द्रित गराएका छन् । सम्भावनाकाे सुनिश्चितता गरिरहेका अध्येता र नीति निर्माता एउटै थलाेमा बसेर याे सुनाैलाे अवसरलाई सदुपयाेग गर्नेतर्फ लाग्ने सद्भावकाे खाँचाे भने देखिएकाे छ । नजिककाे तिर्थ हेला भने जस्तै नेपाल र नेपालीकाे करेसामै सम्पन्नताकाे अवसर हुँदा हुँदै बेवास्ता गर्छाै भने त तिम्राे नियतीमा कस्ले पाे आँसु बगाउला र । कडा नियमनकाे नीति बनाऊ । र छिटाे भन्दा छिटाे संसदमा प्रवेश गरेकाे विधेयक पास गरेर सुखी नेपाली सम्पन्न नेपालकाे मूलद्वार खाेल । राम्राे कामकाे सुरूवात गर्न थाेरै कठिनाइ भाेग्न पनि तयार हुनुपर्छ । भाेकमरी लागेकाे बस्तीमा अन्नकाे भण्डार राखिदिने प्रस्ताव कस्का लागि चैं नराम्राे लाग्ला र ? यदी काेही अजासु निस्केर यसकाे विराेध गर्छ भने त्याे एक्ल्याउने काम जनता स्वयंले गर्ने छन् । अब ढिला नगरी गाँजा विधेयक पास गरेर आम्दानीकाे ढाेका खाेलाैं र आह्वान गराैं कि गाँजा हाम्राे साजा, उत्पादन गराैं ताजा ताजा ।

(लेखक एभिन्यूज खबरका खबर प्रमुख हुन् ।)

leave a reply

Techie