कोरोनाको नयाँ प्रकारमा अक्सफोर्ड-एस्टाजेनेकाको खोपले काम गरेन, दक्षिण अफ्रिकामा रोक

एजेन्सी : दक्षिण अफ्रिकाले कोरोनाभाइरसविरुद्ध अक्सफोर्ड-एस्टाजेनेकाको खोप लगाउने कार्यक्रम स्थगित गरेको छ । दक्षिण अफ्रिकाको सरकारले कोरोनाभाइरसको नयाँ प्रकारविरुद्ध सो खोपको नतिजा सकारात्मक नदेखिएपछि त्यसको प्रयोगलाई रोकेको हो ।

दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्री ज्वेलीम कीजेले नयाँ अध्ययनको पृष्ठभूमिमा खोप लगाउने कार्यक्रमलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे सरकारले थप अध्ययन गर्ने जानकारी दिए ।

अक्सफोर्डको खोपले नयाँ प्रकारको कोरोनाका हल्का तथा मध्यम खालका बिरामीलाई नगन्य सुरक्षा दिएको करिब दुई हजार मानिस सामेल अध्ययनले देखाएको हो ।

दक्षिण अफ्रिकाले सो खोपको खोपको १० लाख मात्रा प्राप्त गरिसकेको छ । आगामी सातादेखि उसले खोप लगाउन शुरू गर्ने तयारी गरेको थियो ।

वैज्ञानिकहरूका अनुसार दक्षिण अफ्रिकाका नयाँ संक्रमितमध्ये ९० प्रतिशत नयाँ प्रकारबाट प्रभावित छन् । खोप विकासकर्ताहरूले दक्षिण अफ्रिकामा देखिएको नयाँ प्रकारविरुद्ध विद्यमान खोपमा परिमार्जन गर्न सक्ने जनाएका छन् ।

अक्सफोर्डले भने खोपले गम्भीर बिमारीको हकमा चाहिँ सुरक्षा दिनेमा जोड दिँदै आएको छ । बेलायतमा देखिएको नयाँ प्रकारमा भने यही खोपले प्रभावकारी काम गरेको बताइएको छ ।

मोडेर्नाले बनाएको खोप दक्षिण अफ्रिकामा फैलिएको नयाँ प्रकारको कोरोना संक्रमणविरुद्ध अझै प्रभावकारी देखिएको प्रारम्भिक नतिजाहरूले देखाएका छन् । फाइजर बायोएनटेकको खोपले पनि नयाँ प्रकारविरुद्ध सुरक्षा दिएको प्रारम्भिक नतिजाहरूले देखाएका छन् ।

leave a reply

Techie