घाम लागे मात्रै सरकारी काम ! (भिडियो रिर्पोट)

बैतडी:  घाम लागेपछि मात्रै काम हुन्छ, बादल लाग्यो वा पानी प-यो भने स्थानीय नागरिकहरु सरकारी सेवाबाट बञ्चित हुन्छन् । झट्ट सुन्दा मजाक र ठट्यौलीजस्तै लागेपनि यो समस्या बैतडी, बझाङ लगायतका ग्रामिण क्षेत्रका स्थानीय तहहरुमा व्याप्त छ ।
भारतसँग सिमाना जोडिएको महाकाली नदी छेउको पंचेश्वर गाउँपालिकावासी आकासमा बादल छ भने गाउँपालिका जादैनन् । आकाश खुलेर घाम लागेको दिन मात्रै उनीहरु गाउँपालिकाको कार्यालय पुग्छन् । गाँउपालिकामा भएका उपकरणहरु सौर्य उर्जाबाट मात्र चल्ने भएपछि गाँउपालिकावासीले सास्ती व्योहोर्नु परेको हो ।

सरकारी सेवालाई स्मार्ट बनाउँदै लैजाने भनिएपनि आकाशमा बादल लागेको दिन गाउँपालिकाका कर्मचारीहरु नै सम्पर्क बिहिन हुन्छन् । यो क्षेत्रमा बिजुलीको अभाव हुँदा टेलिफोन र इन्टरनेटको चर्को समस्या देखिन्छ । दिउँसो घाम लागेको बेलामा टेलिफोन सेवाले काम गर्ने भएपनि राती भने अवरुद्ध हुने गर्छ ।

भारतीय सीमासँग जोडिएको क्षेत्र भएकाले कतिपय गाउँहरुमा भारतीय मोवाईलहरुबाट इन्टरनेटको सेवा लिने गरेको स्थानीयहरुले बताएका छन् । नेपाली टेलिफोन सेवा भन्दा बिभिन्न भारतीय मोबाइलहरुले राम्रो काम गर्ने उनिहरुको भनाई छ ।

पंचेश्वर मात्रै होईन, यहाँका शिवनाथ, पुरचौंडी लगायतका पालिकामा समेत उस्तै खालको समस्या छ । त्यस्तै बझाङको बित्थडचिर, बुङ्गल लगायतका स्थानीय तहहरुमा समेत घाम लाग्दा मात्र सरकारी काम गर्नुपर्ने वाध्यता देखिन्छ । यस्तो समस्या भएका यी प्रतिनिधी पालिकाहरु मात्रै हुन । गाउँमा बिजुलीको अभाव भएका कारण टेलिफोन र इन्टरनेटको समस्याले गर्दा ग्रामिण क्षेत्रका अधिकांश स्थानीय तहहरुको काम निकै प्रभावित भएको देखिन्छ ।

leave a reply

Techie