मैथिली भाषा अनुसन्धानका लागि दिइने एक लाखको पुरस्कार एभिन्यूजकर्मी झालाई दिने निर्णय

काठमाडौं : मैथिली भाषा अनुसन्धानका लागि दिएने सबैभन्दा ठूलो राशीको पुरस्कार एभिन्यूज खबरका जनकपुर सम्वाददाता सुजीतकुमार झालाई दिइने भएको छ । रामजानकी विवाह सन्दर्भलाई लिएर पत्रकार झाले लेखेको अनुसन्धानमूलक किताबका लागि सो पुरस्कार दिने निर्णय विद्यापति पुरस्कार कोषले गरेको हो ।

नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार नाउँको सो पुरस्कारको राशी एक लाखको रहेको छ । यो पुरस्कारको स्थापना संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०६८ सालमा गरेको हो ।

विद्यापति पुरस्कार छनौट समितिको जनकपुरमा बसेको बैठकले नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार मैथिली साहित्य परिषद राजविराजलाई तथा नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार धनुषाका अजितकुमार साह र सप्तरीका सुनिताकुमारी साहलाई दिने निर्णय गरेको छ ।

त्यस्तै नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार धनुषाका वृषेशचन्द्र लाल, नेपाल विद्यापति मैथिली पाण्डूलिपी पुरस्कार सप्तरीका अमरेन्द्रकुमार यादवलाई दिइने निर्णय गरिएको छ ।

मैथिली भाषाका महाकवि विद्यापतिको स्मृति दिवस सन्दर्भ पारेर कार्तिक धवल त्रयोदशीका तिथिका दिन प्रत्येक वर्ष जस्तै यसपाली पनि पाँचवटा विद्यामा पुरस्कार दिने कोषले घोषणा गरेको हो ।

नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार दूई लाख र अन्य पुरस्कार एक–एक लाखको रहेको छ । पुरस्कारको घोषणा गरिएकाहरुलाई केहीदिन भित्रै विशेष समारोह गरी प्रदान गरिने विद्यापति पुरस्कार कोषका सदस्य सचिव नवीनकुमार मिश्रले जानकारी दिएका छन् ।

leave a reply

Techie