कोरोना संक्रमितको अनुभव: सरसफाई कर्मचारीले दिएको त्यो मनोवल र हौसला !

वीरगंज । अस्पतालमा कार्यरत चिकित्सकलाई भगवानको दोस्रो रुपमा पनि हेरिन्छ । जिबनको अन्तिम घडी सम्म पनि चिकित्सकको उपचारले बाँच्न सकिन्छ भन्ने अपेक्षाले उनिहरुलाइ प्राणदाता पनि भनिन्छ । तर त्यही अस्पतालमा कार्यरत अन्य कर्मचारी त्यसमा पनि सरसफाई गर्नेहरु भने संधै उपेक्षितनै रहने गरेका छन् । संक्रमणविच रहेर आस्पतालभित्र संक्रमण छिर्न नदिने यि कर्मचारीलाइ आम मान्छेले भने फोहरी कर्मचारीको नजरमा हेर्छन् , सायद यिनको काम फोहरमैला व्यवस्थापन गर्ने भएर नि होला ।
विगत केही दिनयता आफैले यस्तो अनुभब गर्न पाइयो तर फरक नजरमा ।

कोरोना माहामारीमा पनि भगवान भन्ने शब्दको अर्थलाई मैले पनि अस्पतालमा कार्यरत चिकित्सक ,नर्स वा कम्पाउन्डरको लागि मात्र सुनेको थिए र बुझेको थिए । पत्रकारीता कर्ममा लाग्दै गर्दा साउन ३२ गते कोरोना संक्रमणको सिकार भई गम्भीर अवस्थामा वीरगंजको दोस्रो नारायणी अस्थाई कोभिड अस्पताल (वीरगंज हेल्थ केयर) अस्पतालमा भर्ती हुनुप्रयो । आईसियुमा राखेर उपचार भइरहदा पनि अस्पतालमा हुने अव्यवस्थित फोहोर दुर्गन्ध वाहेक मनमा अन्य कुनै कुराको चिन्ता थिएन । मैले कोरोनाको लागि रिपोटिंग गरेको अधिकांस अस्पतालमा सबै भन्दा बढी समस्या भनेको र्दुगन्धित शौचालय, अब्यवस्थित र फोहर वाडहरुनै रहेका थिए । कोरोना संक्रमित रोगीहरुको कारण रोग सर्ने डर या के हो अस्पतालका सरसफाइ कर्मचारीले सही तरिकाले काम नगरेको सुनेको र देखेको पनि थिए ।

 

साउन ३२ गते बिहान ८ बजे अस्पतालमा आउदा म सारै नै पिडामा थिए । ज्वरो संगै छाती पनि दुखिरहेको थियो र सास लिन ग्राहो भैरहेको अबस्था थियो । उपचार सुरु गरेको करीब ३ घण्टा पछि मलाई अलि सहज महसुस हुदै थियो । आँखा खोलेर हेर्दा पि.पि.इ सेट लगाएका एक जना पुरुष म भन्दा पहिला आ.ई.सि.यु मा रहेका अन्य संक्रमीतहरुको सलाईन र अक्सिजन आदिको अवस्था निरिक्षण गर्दै थिए । म उठेको देखेर उहाँ मेरो नजिक आए र मेरो हात समात्दै भने, ‘दाई टेनसन न लिनु तपाईलाई केहि हुदैन् । तपाई चाँडै आफ्नो घर जानुहुन्छ ।’ यती भन्दै मेरो अक्सिजनको पानी परिवर्तन गरेर उनि फेरी अर्को संक्रमित तिर लागे । उनको त्यो स्पर्श र बोलिले मेरो शरीरमा हजारौं गुणा ताकत भएको औषधि र असिम साहसको मलहम थपेको महसुस गरे मैले ।करीब ५ बजेको समयमा अचानक अस्पतालमा एउटा महिलाले भोजपुरी लोक गित गाउदै गरेको आवाज मेरो कानमा गुन्जियो । ति महिलासंग अन्य तिन जना साथिहर पनि गित गाउदै सरसफाइमा जुटि रहेका थिए । सरसफाई कर्मीहरु व्यक्तिगत सुरक्षा कवच (पि.पि.ई) लगाएर हाथमा कुचो र पोछा लागाउने कपडा बोकेर पुर्ण इमान्दारी र निस्ठाका साथ गित गाउदै काममा लागी परेको देख्दा एक छिनको लागी म सोचमग्न भएँ । बर्तमान परिस्थिति र आफ्नो कर्मसंग मेल खाने उनिहरुको गित मार्मिक र गहन पनि थियो “कैसन दिन देखैल हो भगवान एक आदमी डेराता दोसरा आदमी से हमनी के भगवाका बनैल हे भगवान नहीयर छोडैल, ससुरा छोडैल अब कैल हमर लाल और ल लही से भि दुर कैसन दिन वा देखैल हो भगवान” ।

वीरगन्जको हेल्थ केयर अस्पताललाई नरायणि कोरोना अस्पता घोषण गरिए देखिनै उनिहरु आफ्नो घर परिवार, बाल बच्चलाई छोडि यहि अस्पतालको सरसफाइमा जुटिरहेका रहेछन् । बिरामिले गर्ने फोरहलाई ब्यवस्थापन मात्र हैन संक्रमणले कालगती प्राप्त गरेका ब्यक्तिको अंतिम कपडा (कफन) समेत बदलिने र करीब ११० जना बिरामिको नास्ता, खाना समेतको ब्यवस्थापन उनिहरुले नै गर्ने गरेका रहेछन् । २ जना पुरुष र ८ महिला सहित १० जना सरसफाई कर्मचारी कार्यरत यस अस्पतालमा ५–५ जना गरी सरसफाइको काम २ सिफ्टमा भैरहेको छ । । समाजले उनिहरुलाइ अनपढ र उनिहरुको कामलाइ तल्लो स्तरको नजरले हेर्छ ।  कोरोना महामारीमा संक्रमितको बिच जोखिममा रहेर ३५-४० डिग्री गर्मीमा पि.पि.ई लागाई तिन तल्ला बिल्डिङलाइ सफा र सुरक्षित बनाउने यिनको काम पक्कै प्रशंसायोग्नै छ । तर के यो काम मजबुरी हो या घरखर्च चलाउने मासिक खर्चको जोहो.? कि मानबिय सेवा भावाना  ? मनको खुल्दुली मेटाउन एक सफाई महिला कर्मचारी संग प्रश्न राख्दा उनको जवाफले ति कर्मचारीप्रतिको श्रद्धा भाव झनै बढेर आयो । ‘हामी कम पढेलेखेका ब्यक्ति हौ, ठुला कुरा गनै आउँदैन तर रकमको लागि कोई जानि जानि आगोमा कुद्दैन । यहाँ अस्पतालामा धेरौ बच्चाहरुले हाम्रै काँखमा आफ्नो पहिलो संसार देख्छन । हामी ति बच्चाहरुको लागी आफन्त झै खुसिहुन्थ्यौं । आज परिस्तीथी बदलिएको छ, आज देशमा संक्रमणकालको अवस्था छ । आफुले स्याहारसुसार गरेको बच्चा कतीबेला आखाँ चिम्लिएर यो संसारलाई छोडेर जान्छ , त्ये देख्दा हाम्रो आत्मा रुन्छ । जिवन देखि मृत्यु सम्म यहाँ आउने हरेक बिरामिको लागि हाम्रो सेवा बराबर हो । चाहे त्यो कोरोना होस वा अन्य कुनै रोग हामीहरु आफुलाई अग्रस्थानमा राखि आफ्नो दायित्व पुरा गर्दै छौं , बाकी सोचनेले सोचोस’ ….
मेरो अस्पातामा भर्नाको पहिलो दिनमा मेरो हाथ समाई मलाई मल्म लगाउने पुरुष पनि सफाई कर्मचारी भएको उनै महिला कर्मचारीबाट थाहा पाए । त्यो दिन उनि अक्सीजनको फील्टर बद्लिन आएका रहेछन ।

उनिहरुको काम लगनशिलता र निस्पार्थ सेवाभाबले म सोच्न बाध्य भएँ ।  आखिर को हुन यिनिहरु ? …..अशिक्षित, अनपढ, सानो सोच र बुद्धि नपुगेको मनुवाहरु हुन  या आफ्नो कर्ममा समर्पित कोरोना संक्रमितको लागि अनपढ भगवान ?
पढेलेखेका आफुलाई शिक्षित बुद्धिमान भन्ने हाम्रो समाजले यस्ता ब्यक्तिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने अबको आवश्यक्ता हो । मनुस्य आफ्नो कर्मले महान हुन्छ न कि उसको पैसा, पढाई वा उस्को जात र धनले ? मेरो लागि कोरोना संक्रमणकालमा कोरोना अस्पतालमा काम गर्ने यस्ता सोचका ब्यक्ति असल भगवान हुन् ।

सोच बदले समाज बदलिन्छ ।  समानता र निश्पक्षताको लागि सोच बदलौ । व्यक्तिको होइन कामको सम्मान गरौ ।

 

*लेखक एभिन्यूज खबरका वीरगंज संवाददाता हुन् ।

 

leave a reply

Techie