नेपाल–भारत संयन्त्र बैठक सम्पन्न

काठमाडौं : लामो समयपछि नेपाल भारत संयुक्त निरीक्षण संयन्त्रको बैठक आज बसेको छ । नक्सा विवादका कारण नेपाल र भारतबीच संवादहीनता रहेकै बेला दुई देशबीच आज भर्चुअल माध्यमवाट औपचारिक छलफल भएको हो ।

बैठकमा भारतको सहयोगमा सञ्चालित परियोजनामा केन्द्रित रहेर कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । छलफलमा भारतले भुकम्पपछिको पुनर्निर्माणमा ५० हजार घर बनाउन सघाउने प्रतिबद्धता अनुसार ४६ हजार घर निर्माण सकेको जानकारी गराएको छ ।

बैठकमा कोरोना भाइरस रोकथामका लागि भारतले मेडिकल उपकरण र औषधि लगायत उपलब्ध गराएर गरेको सहयोगको नेपालले प्रशंसा गरेको छ । द्विपक्षीय आर्थिक र विकास सहयोग परियोजनाहरूको विस्तृत समीक्षा गर्दै कार्यान्वयनलाई तिब्रता दिने सहमति पनि बैठकमा भएको छ ।

मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन, विराटनगर एकीकृत चेक पोस्टको निर्माण लगायतको पनि समिक्षा भएको छ । बैठकमा नेपालको प्रतिनिधित्व परराष्ट्र सचिव शंकरदास बैरागी र भारतकको प्रतिनिधित्व नेपालस्थित भारतीय राजदूत विनय मोहन क्वात्राले गरेका थिए ।

संयन्त्रको बैठक भएकाले सीमा विवादबारे कुरा नभएको बताइएको छ । सीमाबारे छलफल गर्न सचिवस्तरीय संयन्त्र भएपनि त्यसको बैठक अहिलेसम्म हुन सकेको छैन ।

leave a reply

Techie