नेकपा सचिवालय बैठक भोलि बस्ने

काठमाडौं : झण्डै एक महिनापछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि सोमबार बस्ने भएको छ । पार्टीभित्रको आन्तरिक किचलोका कारण लामो समयदेखि बस्न नसकेको बैठक भोलि विहान साढे नौ बजेका लागि बोलाइएको हो ।

पार्टीभित्रको विवाद समाधानका लागि गठन भएको कार्यदल अनुमोदन गराउन बैठक बोलाइएको हो । बैठकले कार्यदलको कार्यादेश पनि तयार पार्नेछ ।

साउन तीन गतेपछि नेकपा सचिवालय बैठक बस्न सकेको छैन । सो बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन प्रस्ताव गरेका थिए । त्यसपछि बैठक बस्न सकेको छैन ।

भोलि बस्ने भनिएको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएका सहमतिका विषयमा पनि छलफल हुने बताइएको छ । दुई अध्यक्षले शुक्रबार विवादमा सहमति जुटाउन छ सदस्यीय कार्यादल गठन गरेका थिए । कार्यदल गठनमा वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल लगायतले असन्तुष्टि ब्यक्त गर्दै आएका छन् ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य रहेको कार्यदल बनाएका थिए । यद्यपि पार्टीभित्रको शक्ति सन्तुलनअनुसार कार्यदल बनेको छ । कार्यदल गठनसँगै नेकपाका देखिएको विवाद समाधान उन्मुख देखिएको छ ।

leave a reply

Techie