कोरोनाविरुद्धको खोप नबने पनि लकडाउन हटाउँछु : ट्रम्प

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस विरुद्धको खोप नबने पनि लकडाउन हटाउने बताएका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले खोप नबने पनि अर्थतन्त्र सञ्चालन गर्ने बताएका हुन् ।

खोप नबने पनि अमेरिकीहरु सामान्य जीवनमा फर्किन थाल्नु पर्ने उनको भनाइ छ । ट्रम्पले विद्यालय पनि खुला गर्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले खोप बनाउनका लागि जारी अपरेशन ‘र्‍याप स्पीड’बारे जानकारी दिँदै अभियानलाई दोस्रो विश्व युद्धका बेला विश्वको पहिलो परमाणु हतियार बनाउने प्रयास जस्तै संज्ञा दिए ।

अभियानमा कोरोना भाइरसविरुद्धको १४ वटा सम्भावित खोपको अनुसन्धान तथा त्यसका लागि अनुमति दिइने उनको भनाइ छ । यसमा ठूलो संख्यामा वैज्ञानिक तथा उद्योगहरु लागिपर्ने बताइएको छ । ट्रम्पले अभियानको नेतृत्व आर्मी जनलर तथा स्वास्थ्य सेवाका पूर्व कार्यकारीलाई दिएका छन् ।

पत्रकार सम्मेलनको क्रममा राष्ट्रपति कार्यालय बाहिर केही हप्तादेखि पार्क गरिएका लरीका ड्राइभरले हर्न बजाएका थिए । उनीहरुले पारिश्रमिक बढाउनुपर्ने माग गरेका हुन । पत्रकार सम्मेलनमै औषधि उत्पादक कम्पनी ग्लासो स्मिथ केलाइनको खोप विभागका पूर्व प्रमुख मोन्सेफ स्लाउइले यो वर्षको अन्त्यसम्ममा खोपका केही करोड डोज उत्पादन हुनेमा विश्वस्त रहेको बताए ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा हालसम्म ८७ हजार पाँच सय भन्दा बढीको मृत्यु भएको छ । संक्रमितको संख्या अमेरिकामा १४ लाख ४२ हजार नाघेको छ ।

leave a reply

Techie