पूर्वसभामुख महराले पाए सफाई

काठमाडौं : पूर्वसभामुख कृष्णबहादुर महराले बलात्कारको प्रयास सम्बन्धी मुद्दामा सफाई पाएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाई दिएको हो । जिल्ला अदालतको यो फैसलासँगै बलत्कारको प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका महरा छुट्ने भएका छन् ।

अभियोगमा गरिएको मागदाबीमा प्रमाण नपुगेको भन्दै जिल्ला अदालत काठमाडौंले महरालाई बलात्कार प्रयास सम्बन्धी मुद्दामा सफाई दिएको हो । महराका पक्षमा वरिष्ठ अधिवक्ताहरू लवप्रसाद मैनाली, रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, डा. भीमार्जून आचार्य र सबिता भण्डारी बराल तथा अधिवक्ताहरू सुशील सापकोटा, मुरारी सापकोटा, डा. दिनमणि पोखरेलले बहस गरेका थिए । सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलले जवाफ दिएका थिए ।

महराविरुद्ध बलात्कारको प्रयासमा ५ वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय माग गर्दै अभियोगपत्र दायर गरिएको थियो । उनलाई संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोग लागेको थियो ।

पूर्वसभामुख महराले आफूमाथि बलात्कार प्रयासको आरोप लागेपछि असोज १४ गते राजीनामा दिएका थिए । जिल्ला अदालत काठमाडौंले गत कार्तिक १८ गते सभामुख महरालाई बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । त्यसपछि १९ असोजमा महरालाई प्रहरीले पक्राउ गरेको थियो ।

leave a reply

Techie