रुकुम : रुकुम पश्चिममा एक व्यक्तिले श्रीमती र छोराको भरुवा बन्दुक र खुकुरी प्रहार गरी हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र ११ वर्षीय छोरा स्वयमप्रकाश बुढाको हत्या गरेका हुन् ।
बुढाले शनिबार राति २ बजे श्रीमती इन्द्रकलालाई भरुवा बन्दुकले गोली हानी र छोरा स्वयमप्रकाशलाई खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । बुढाले श्रीमती र छोराको हत्यापछि आत्महत्याको प्रयास गरेको समेत प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए ।
बुढाले मदिरा सेवन गरी श्रीमती र छोराको हत्या गरेको प्रहरीले आशंका गरेको छ । स्थानीयवासीले भने बुढा मानसिक रूपमा स्वस्थ नरहेको बताएका छन् । बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।