काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा एमालेले मर्यादित भएर संसदीय अभ्यासमा केन्द्रित हुन सासंदहरुलाई निर्देशन दिएको छ । मंगलबार बिहान पार्टी कार्यालय धुम्वाराहीमा संघीय संसदका सदस्य र प्रदेशसभा सदस्यको भेला आयोजना गर्दे एमालेले यस्तो निर्देशन दिएको हो । त्यस्तै प्रदेश र संघीय संसदमा रहेर पार्टीबाट खेल्नुपर्ने भूमिकामा ख्याल राख्न पनि एमालेले निर्देशन दिएको छ ।
भेलामा राष्ट्रपति निर्वाचनका सम्बन्धमा छलफल केन्द्रित भएको थियो । राष्ट्रपति निर्वाचनका लागि बिभिन्न प्रदेशबाट काठमाडौं आएका सांसदहरुसँग परिचयात्मक कार्यक्रमका लागि पनि भेला आयोजना गरिएको हो । नेपालको तेस्रो तथा नयाँ संविधान अनुसार भएको चुनावपछिको पहिलो राष्ट्रपति चयनका लागि हुने निर्वाचनका लागी एमालेका सासंदहरु काठमाडौं केन्द्रित भएका हुन् ।