काठमाडौँ : मंगल ग्रहमा तरल अवस्थामा पानी रहेको प्रमाण भेटिएको छ । दक्षिणी ध्रुबको हिउँले भरिएको क्षेत्रमा तरल अवस्थामा रहेको पानीको ताल भएको प्रमाण आफूहरुले फेला पारेको अनुसन्धानकर्ताले बताएका हुन । सतहमा हिउँ रहेको र त्यसको एक किलोमिटर तल पानी तरल अवस्था रहेको वैज्ञानिकको भनाई छ ।
यसअघिका अनुसन्धानमा मंगल ग्रहमा कुनै बेला पानी रहेको भन्ने संकेत दिने प्रमाण फेला पारेका थिए । मंगल ग्रहमा पानी तरल अवस्थामा रहेको छ भन्ने प्रमाण भेटिएको यो पहिलो पटक हो । मङ्गल ग्रहको परिक्रमा गरिरहेको मार्स एक्स्प्रेस नामक भूउपग्रहमा जडित मार्सिस नाम गरेको रेडार उपकरणको प्रयोग गरेर यो पछिल्लो तथ्य पत्ता लगाइएको हो ।
अनुसन्धानको नेतृत्व गरेका इटालीको नेशनल इन्स्टिच्युड अफ एस्ट्रोफिजिक्सका प्राध्यापक रोबर्टो ओरोसेइका अनुसार तरल रुपमा रहेको पानीको गहिराई कम्तिमा एक मिटर रहेको अनुमान गरिएको छ । पानीको मात्रा रहेको थाहा लागेसँगै मंगलमा जीवनको सम्भावना देख्नेहरु पनि छन् । तर मानव जीवनको सम्भावनाबारे अहिले नै निश्चित रुपमा केही भन्न सकिने अवस्था भने छैन ।