अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आउँदो बुधबार संसदको तल्लो सदनमा हुने महाअभियोगसम्बन्धी सुनुवाइमा सहभागी नहुने भएका छन् । राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले राष्ट्रपति ट्रम्प र उनका वकिल महाअभियोगसम्बन्धी सो सुनुवाइमा सहभागी नहुने जानकारी दिएको हो । राष्ट्रपतिका कानुनी सल्लाहकार प्याट सिपोलोनीले संसदको न्यायपालिकासम्बन्धी समितिलाई लेखेको पत्रमा यसबारे जानकारी दिएका छन् । यसअघि समितिका अध्यक्ष जेरोल्ड नाड्लरले राष्ट्रपति ट्रम्पले सुनुवाइमा भाग लिनु पर्ने वा यसबारे गुनासो गर्न बन्द गर्नुपर्ने बताएका थिए । तर ह्वाइट हाउसले बुधबारपछिको अर्को सुनुवाइमा राष्ट्रपति ट्रम्पले भाग लिने वा नलिने विषयमा केही जनाएको छैन । समय र स्थान नखुलेको उक्त सुनुवाइबारे तत्कालै प्रतिक्रिया नजनाउने ह्वाइटहाउसले प्रष्ट पारेको हो । ह्वाइटहाउसले सुनुवाइको तयारी गर्न पर्याप्त समय नदिइएको र प्रत्यक्षदर्शीबारे पनि जानकारी नदिइएको बताएको छ ।