काठमाडौं । वाम गठबन्धनले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनाउने निर्णय गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र बुझाएको छ । नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले प्रतिनिधिसभा चुनवामा वाम गठबन्धनलाई बहुमत मिलेको विवरण बुझाउँदै नयाँ सरकारका लागि दाबी प्रस्तुत गरेका हुन ।
नेकपा एमालेका अध्यक्ष केपी ओली तथा नेता सुवासचन्द्र नेम्बाङ र अग्नी खरेल तथा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आज विहान शीतल निवासमा पुगेर राष्ट्रपतिलाई पत्र बुझाएका हुन ।
दुबै दलको पत्रमा संविधानको धारा ७६ (२) अनुसार एउटै दलको बहुमत नपुगेकाले वाम गठबन्धनका दुई दलले आफूहरूको बहुमत रहेको उल्लेख गर्दै ओलीलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्न अनुरोध गरेका हुन् ।
दुई दलको पत्र पाएपछि राष्ट्रपति भण्डारीले आजै ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेकी छिन । राष्ट्रपतिबाट नियुक्त भएका प्रधानमन्त्रीले एक महिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने प्रावधान छ ।
वाम गठबन्धनसँग संसदमा झन्डै दुई तिहाइ सिट छ । त्यसैले ओलीको नाम स्वत अनुमोदन हुने अवस्था छ । राष्ट्रपतिले ओलीको नाम अनुमोदन गरेलगत्तै तत्काल दुई दलको मात्र सरकार बन्नेछ ।