काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नियुक्त सुशील ज्ञवालीले पदभार ग्रहण गरेका छन् । मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले ज्ञवालीलाई दोस्रो पटक नियुक्त गरेपछि उनले बिहिबार पदभार ग्रहण गरेका हुन् ।
सरकारले गत २२ असारमा अघिल्लो सरकारले गरेका सबै राजनीतिक नियुक्ति बदर गर्ने निर्णय गरेसँगै यसअघि सिइओ कायम रहेका युवराज भुसाल पदमुक्त भएका थिए । त्यसयता प्राधिकरणको नेतृत्व खाली थियो ।
ज्ञवाली १० पुस २०७२ सालमा प्राधिकरणको सिइओ नियुक्त भएका थिए । त्यसको एक वर्षपछि २७ पुसमा उनलाई तत्कालीन सरकारले बर्खास्त गरेको थियो । बर्खास्तीमा परेपछि अदालत गएका उनको मुद्दा अझै विचाराधीन छ ।
ज्ञवाली प्राधिकरणको पाँचौं सिइओ बनेका छन् । व्यक्तिका हिसाबले भने उनी तेस्रो मात्र हुन् । यसअघि प्राधिकरणको सिइओ हुनुअघि ज्ञवाली नगर विकास कोषका कार्यकारी निर्देशक थिए । कार्यकाल डेढ वर्ष बाँकी रहँदै उनलाई सरकारले प्राधिकरणको सिइओ नियुक्त गरेको थियो । ज्ञवालीसँग तत्कालीन स्थानीय निकायमा लामो समय काम गरेको अनुभवसमेत छ ।