अमेरिका : अमेरिकी विदेश विभागले साउदी पत्रकार जमाल खशोग्गीको हत्याका सम्बन्धमा भएको अनुसन्धान निष्कर्षमा नपुगेको जनाएको छ । हत्यामा साउदी युवराज मोहम्मद बिन सलमान संग्लन रहेको निस्कर्षमा अमेरिकी गुप्तचर निकाय ‘सिआइए’ पुगेको भन्ने खबर आइरहेका बेला विदेश विभागको यस्तो टिप्पणी आएको हो ।
विदेश विभागद्वारा जारी विज्ञप्तीमा घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको अमेरिकी निकाय निष्कर्षमा पुगेको भन्ने पछिल्ला खबरहरु झुटा रहेको र खशोग्गी प्रकरणमा अन्तिम निष्कर्ष आउन बाँकी रहेको उल्लेख छ । अझै पनि उत्तर बिहीन धेरै प्रश्नहरु रहेको र तिनका जवाफ नखोजिएसम्म अनुसन्धान निष्कर्षमा नपुग्ने वक्तव्यमा उल्लेख छ ।
घटनाको सत्य तथ्य पत्तालगाउन अरु देशसँग मिलेर अनुसन्धान जारी राखिएको पनि विज्ञप्तीमा उल्लेख छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सिआइएका उच्च अधिकारीसँग खशोग्गी हत्याका सम्बन्धमा भइरहेको अनुसन्धानका बारेमा जानकारी लिएका छन । भेटपछि उनले घटनामा साउदी युवराजको संलग्नता नरहेको प्रमाण अहिलेसम्म फेला नपरेको बताएका छन् ।
केही दिनभित्र अनुसन्धानको पूर्ण प्रतिवेदन सार्वजनिक हुने र त्यसमा हत्या कसले गरेको भन्ने प्रश्नको पनि उत्तर हुने ट्रम्पले दाबी गरेका छन् ।अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खशोग्गीको गएको अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित बाणिज्य दूतावासको कार्यालयमा हत्या गरिएको थियो । तर हत्यामा संलग्नको पहिचान तथा उनको शरीर कहाँ छ भन्ने बारे अहिलेसम्म खुल्न सकेको छैन ।