रोल्पा : तरुण दल रोल्पा नगरका अध्यक्ष रोहित पुनको हत्याको विरोधमा आज रोल्पाको लिवाङ बजार बन्द गरिएको छ । पुनको गोली हानी हत्या भएको विरोधमा तरुण दल रोल्पाले बन्द आब्हान गरेको हो । बन्दका कारण बजार, शिक्षण संस्था र यातायात सेवा पूर्ण रुपमा ठप्प भएको छ ।
गोली हानेको आरोपमा प्रहरीले तत्कालिन माओवादी केन्द्र समर्थक रोल्पा नगरपालिका–१० धबाङका ३० वर्षिय देवबहादुर घर्तीलाई पेस्तोल सहित पक्राउ गरिसकेको छ । घटनामा सग्लन थप केही फरार रहेकाले उनीहरुलाई पक्राउ गरि कडा कारवाही गर्नुपर्ने तरुण दलको माग छ । इलाका प्रहरी कार्यालय सुलिचौरको नजिकै रहेको एक रेष्टुरेन्टमा आइतबार पुनको गोली हानी हत्या गरिएको थियो ।
यसैबीच नेपाली कांग्रेसले पनि एक विज्ञप्ति जारी गरी हत्यारालाई कडा कारवाही गर्न माग गरेको छ । पार्टी केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा इलाका प्रहरी कार्यालय सुलिचौर नजिकै भएको घटनामा पनि हत्यारालाई पक्रन प्रहरीले तदारुकता नदेखाउनु दुःखद् भएको उल्लेख छ ।
कांग्रेसले हत्या भएका पुनमाथि श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ । तरुण दलले पनि हत्यामा संलग्नलाई तत्काल नियन्त्रणमा लिई कडाभन्दा कडा कारवाही गर्न माग गरेको छ । हत्यारालाई नियन्त्रणमा लिएर कारवाही नगरे तरुण दलले देशभर आन्दोलन गर्ने जनाएको छ ।