झापा । मेचीनगर–१२ सहरेडाँगीस्थित युनिक इङ्लिस बोर्डिङ स्कूलले शनिबार कवि गोष्ठी सम्पन्न गरेको छ । अंग्रेजी माध्यममा पढाई हुने निजी बोर्डिङ स्कूलले झापा तथा इलामका चर्चित साहित्यकारलाई उपस्थित गराएर कवि गोष्ठी गरेको हो ।
फरक शैलीको कार्यक्रम आयोजना गरौँ भन्ने उद्देश्यले यसो गरिएका स्कूलका प्रिन्सिपल विष्णु रिमालले भने । कार्यक्रममा साहित्यकारले मात्र नभइ विभिन्न निजी विद्यालयका विद्यार्थीले पनि आफ्ना रचना वाचन गरे । ती विद्यार्थीका रचना सुनेर कार्यक्रममा उपस्थित साहित्यकारले पनि प्रशंसा गरे ।
विद्यार्थीले ‘शान्तिको खोजी’, ‘नारी’, ‘गणतन्त्र’, ‘मेरो देश’ लगायत शिर्षकका कविता मिठो शैलीमा वाचन गरे । उनीहरुका कवितामा नारीको महिमादेखि मुलुकमा बुद्धको अभावसम्मका कुरा भेटिन्थे ।
केही विद्यार्थीले मुलुकमा आफूहरु असुरक्षित रहेको विषय कवितामार्फत् प्रस्तुत गरे भने केहीले मुलुकको सुन्दरता कविताकै माध्यमबाट व्यक्त गरे ।
युनिक इङ्लिस बोर्डिङ स्कूलमा अध्ययनरत् कक्षा ९ की छात्रा अञ्जना तिवारीले ‘मेरो देश नेपाल’ शीर्षकको कवितामार्फत् मुलुकको सुन्दरताको बयान गरिन ।
हिमाल, पहाड, तराई रहेको आफ्नो मुलुकभित्र हरियाली वन–जंगलदेखि मयुर र कोइलीसम्मका सुन्दर पक्षी रहेको उनको कवितामा उल्लेख थियो । आफ्नो मुलुक सानो रहे पनि निकै सुन्दर रहेको उनको कविताको सारांश थियो ।
गोष्ठिमा प्रमुख अतिथि रहेका अग्रज साहित्यकार तेजराज खतिवडा ‘तेराख’, साहित्यकारहरु पुण्यप्रसाद खरेल, युवाकवि युवराज भट्टराई, मातृकाप्रसाद संग्रौला, गजलकार पर्शुराम तिम्सिना, छन्द कवि खगेन्द्र नेपाल, नेत्रप्रसाद मिश्र, दिनेश कार्की लगायतले आफ्ना रचना सुनाएका थिए ।
विद्यार्थीका तर्फबाट प्रकाश घिमिरे, अलका खतिवडा, उज्ज्वल भट्टराई लगायतले कविता सुनाए । युनिक इङ्लिश बोर्डिङ स्कूलका व्यवस्थापन समिति अध्यक्ष नारायणप्रसाद रिमालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षिका आस्मा पौडेलले गरेकी थिइन् ।