काठमाडौं । विदेशबाट आयात गर्नुपर्ने कच्चा पदार्थ उपलब्ध नभएको कारण देखाउँदै स्वदेशी औषधि उत्पादक कम्पनी सरकारसँगको सम्झौताअनुसार औषधि आपूर्ति गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
औषधि उत्पादक कम्पनीको यो कमजोरीका कारण सरकारी स्वास्थ्य संस्था प्रभावित हुने जोखिम बढेको छ । सरकारले जनतालाई निःशुल्क वितरण गरिरहेका ती औषधि समयमै उपलब्ध नहुँदा सर्वसाधारण मारमा पर्न सक्ने भन्दै सरकारी अधिकारीले चिन्ता व्यक्त गरेका छन् ।
अहिले मूल्य र प्रतिबन्धजस्ता विषयका कारण विदेशी औषधि विवादमा छन् । स्वदेशी औषधि उत्पादक कम्पनीले टेन्डर सम्झौताअनुसार सरकारलाई मेमा उपलब्ध गराउनुपर्ने औषधि उपलब्ध नगराई आपूर्तिका लागि थप समय मागेका छन् ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा. भीमसिंह टिंकरीका अनुसार सरकारले चालु आर्थिक वर्षमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार कच्चा पदार्थबाट बनेको औषधि उपलब्ध गराउने सम्झौता स्वदेशी औषधि उत्पादक कम्पनीसँग गरेको थियो । अन्य स्थानमा भने जीएमपीका आधारमा मात्रै औषधि उत्पादन हुँदै आएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।